पाँच वटा संस्थाको वित्तीय कारोबारमा कैफियत, राष्ट्र बैंकले गर्यो नसिहत र नगद जरिवानासहित कारबाही

लोकपथ
585
Shares

काठमाडौं । वित्तीय कारोबार सञ्चालनमा गंम्भिर कैफियत देखिएपछि नेपाल राष्ट्र बैंकले पाँच वटा संस्थारुलाई कारवाही गरेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमासमा वित्तीय कारोबार सञ्चालनमा गल्ती गरेको आधारमा एक्सेल डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, गरिमा बिकास बैंक, सिन्धु बिकास बैंक र रिलायन्स फाईनान्सलाई कारवाही गरिएको हो ।

राष्ट्र बैंकका अनुसार कर्णाली डेभलपमेन्ट बैंक लि. का तत्कालीन प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले पदमा बहाल रहँदा अनियमित कार्य गरेका आधारमा अन्य शिर्षकको कारवाही अन्र्तगत आर्थिक जरिवाना गरिएको छ ।

संस्थाको विशेष स्थलगत निरीक्षण प्रतिवेदनमा औल्याइएका कैफियतहरु बमोजिम संस्थाका तत्कालिन प्रमुख कार्यकारी अधिकृत रावतले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनको गम्भीर रुपमा उल्लङ्घन गरी संस्था, लगानीकर्ता, निक्षेपकर्ता तथा सर्वसाधारणको हित विपरित कार्य गरेको तथा संस्था सुधारका लागि नेपाल राष्ट्र बैंकबाट पटक पटक दिइएका निर्देशनहरु पालना नगरेकोल निजलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ पाँच लाख जरिबाना गरिएको राष्ट्र बैंकको भनाई छ ।

यसैगरी कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक अध्यक्ष राजेन्द्र विर रायलाई पनि पाँच लाख रुपैयाँ जरिवाना गरिएको छ । राष्ट्र बैंकका अनुसार संस्थाको विशेष स्थलगत निरीक्षण प्रतिवेदनमा औल्याइएका कैफियतहरु बमोजिम संस्थाका तत्कालिन सञ्चालक समिति अध्यक्ष रायले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनको गम्भीर रुपमा उल्लङ्घन गरी संस्था, लगानीकर्ता, निक्षेपकर्ता तथा सर्वसाधारणको हित विपरित कार्य गरेको तथा संस्था सुधारका लागि नेपाल राष्ट्र बैंकबाट पटक पटक दिइएका निर्देशनहरु पालना नगरेको, संस्थाबाट अप्रत्यक्ष रुपमा कर्जा उपभोग गरेको लगायतका कार्य गरी निर्देशन उल्लङ्घन गरेकोले निजलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (ग) बमोजिम पाँच लाख रुपैयाँ जरिबाना गर्ने निर्णय भएको हो ।

सिन्धु बिकास बैंकको सञ्चालक समितिका अध्यक्ष र सबै सञ्चालकहरुलाई भने राष्ट्र बैंकले कारवाही स्वरुप सचेत गराएको छ । संस्थाको विशेष स्थलगत निरीक्षण प्रतिवेदन बमोजिम संस्थाकोआन्तरिक लेखापरीक्षण तथा सञ्चालन जोखिम व्यवस्थापन कार्य अत्यन्त कमजोर रहेको, सञ्चालक समिति र सो अन्तर्गत रहेको विभिन्न समिति/उप– समितिहरुको विवरणहरु सन्तोषजनक नरहेको, जनशक्ति व्यवस्थापन, सूचना प्रविधि, ग्राहक पहिचान पद्धती, कारोवार अनुगमन गर्ने पद्धती लगायतका कार्यहरु समेत सन्तोषजनक नरहेको तथा समग्रमा संस्थाको आन्तरिक नियन्त्रण प्रणाली निकै कमजोर पाइएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम संस्थाका सञ्चालक समितिका अध्यक्ष तथा सबै सञ्चालकहरुलाई सचेत गराइएको हो, राष्ट्र बैंकले भनेको छ ।

यसैगरी सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ । बैंकको विशेष स्थलगत निरीक्षण प्रतिवेदन बमोजिम संस्थाको आन्तरिक लेखापरीक्षण तथा सञ्चालन जोखिम व्यवस्थापन कार्य अत्यन्त कमजोर रहेको, जनशक्ती व्यवस्थापन, सूचना प्रविधि, ग्राहक पहिचान पद्धती, कारोवार अनुगमन गर्ने पद्धती लगायतका कार्यहरु समेत सन्तोषजनक नरहेको तथा समग्रमा संस्थाको आन्तरिक नियन्त्रण प्रणाली निकै कमजोर पाइएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम सिन्धु बिकास बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराईएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार रिलायन्स फाइनान्सको सञ्चालक समितिलाई भने कारवाहीस्वरुप नसिहत दिईएको छ । ऋणीको व्यवसायिक क्षमता भन्दा बढी हुने गरी नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत कर्जा प्रबाह गरेको, कर्जाको परियोजना सन्तोषजनक नरहेको, संस्थाबाट प्रवाहित कर्जा पुरानो ऋणीको कर्जा चुक्ता गर्न प्रयोग भएकोर बाँकी रकम समेत सम्बन्धित परियोजनामा उपयोग नभई जग्गा खरिदका लागि भुक्तानी भएको तथा कर्जा प्रदान गर्दा उल्लेख भएको उदेश्य भन्दा अन्य प्रयोजनमा कर्जाको प्रयोग भई कर्जा दुरुपयोग भएको र परियोजनाको सञ्चालन अवस्था एवम् धितो सुरक्षणको अवस्थितिका आधारमा कर्जा असुरक्षित रहँदाकै अवस्थामा संस्थाको सञ्चालक समितिबाट कर्जा स्वीकृतिको निर्णय गरी निक्षेपकर्ताको हितविपरित कार्य भएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम सञ्चालक समितिलाई नसिहत दिइएको राष्ट्र बैंकको भनाई छ ।

सोही प्रकरणमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठलाई पनि नसिहत दिईएको छ । पुरानो ऋणीको कर्जा चुक्ता गर्न नयाँ दर्ता भएको फर्मको नाममा छोटो समयमा कर्जा स्वीकृत गरी प्रवाह भएको, ऋणीको परियोजना सन्तोषजनक नभएको, कर्जामध्येबाट पुरानो ऋणीको कर्जा भुक्तानी गरी बाँकी रकम समेत तोकिएको उदेश्य वाहेक अन्य उदेश्यमा प्रयोग गरी कर्जा दुरुपयोग भएकोले निक्षेपकर्ताको हित विपरित कार्य भएको । उक्त कर्जाका परियोजना र धितो निरीक्षण गरी कर्जा स्वीकृतिको लागि सञ्चालक समितिलाई सिफारिस गर्ने कार्यमा प्रमुख कार्यकारी अधिकृतको संलग्नता देखिएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम संस्थाका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठलाई नसिहत दिइएको हो, राष्ट्र बैंकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?