सदन खुल्ने बित्तिकै शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगो लगाउने प्रधानमन्त्रीको प्रतिबद्धता

लोकपथ
63
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै शान्ति प्रक्रिया सम्बन्धी विधेयक अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

युगान्डाको भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै संसद आह्वान हुने बित्तिकै टीआरसी विधेयक अघि बढाएर शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने विश्वास व्यक्त गरे ।

‘टीआरसी विधेयक सदन खुल्ने बित्तिकै सहमतिबाटै टुङ्गिन्छ र शान्ति प्रक्रियाले पूर्णता पाउँछ’, प्रधानमन्त्री प्रचण्डले भने ।

त्यस्तै उनले सरकारको कामकारबाहीले गति लिन थालेको बताउँदै सरकारको कामले गति नलिए र मन्त्रालयले आफ्नो जिम्मेवारीलाई ठिक ढङ्गले पुरा नगरे मन्त्रीमण्डल पुनर्गठन हुनसक्छ भनेर आफूले मन्त्रीहरूलाई भनिसकेको बताए ।

‘हामी गति लिने कोसिस छौँ,’ प्रधानमन्त्रीको भनाइ छ ।

त्यसैगरी नेपालको कर्मचारीतन्त्र क्षमताका हिसाबले विश्वका अन्य देशको भन्दा कम नभएको बताउँदै आँट लिने सवालमा भने केही कमी हो की भन्ने महसुस भएको बताए ।

प्रधानमन्त्री प्रचण्ड युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?