काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले विदेशबाट तस्करी भएर भित्रिएका मोबाइल सेट चल्न नदिन ‘मोबाइल डिभाइस म्यानेमेन्ट सिस्टम’ (एमडीएमएस) आवश्यक रहेको बताएकी छन् ।
सिंहदरबारमा बिहीबार संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले तस्करीबाट आएका मोबाइल नचल्ने बनाउँदा राजस्व वृद्धि हुने बताइन् ।उनले भनिन्, ‘एमडीएमएस हामीले लागु गर्ने विषय नै हो भनेर बुझेकाले यो प्रक्रिया अगाडि बढाएका हौं । वैदेशिक रोजगारमा गएर आउने श्रमिकलाई एउटा मोबाइल अतिरिक्त ल्याउन दिने भनेर मन्त्रिपरिषद्बाट निर्णय भएको छ । यसमा खास रोक्न खोजेको के हो भने, जुन तस्करीबाट र अन्य अवैधानीक बाटोबाट आउँछन्, त्यसलाई नियन्त्रण गर्न एमडीएमएस आवश्यक परेको हो । यसले राजस्वको दायरामा पनि वृद्धि हुन्छ भन्ने हाम्रो विश्वास छ ।’
खुला सीमा भएका कारण तस्करी बढेको भन्दै यसलाई नियन्त्रण गर्न एमडीएमएस लागु गर्न खोजिएको उनको भनाइ थियो ।
एमडीएमएसका लागि आवश्यक स्रोत र साधन खरिदको प्रक्रियाले व्यवहारिकता नपाएको भन्दै उनले दुरसञ्चार प्राधिकरणमाथि छानबिन र कारबाही गर्ने अधिकार सञ्चार मन्त्रालयको नभएको स्पष्ट पारिन् ।
रास्वपा सांसद सुमना क्षेष्ठले उठाएको सञ्चार मन्त्रालयअन्तर्गतका निकायको अनुगमन र कार्यसम्पादन मूल्यांकन किन नगरिएको भन्ने प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले भनिन्, ‘हामीले सञ्चार मन्त्रालय अन्तर्गत रहेका निकाय तथा एजेन्सीको हरेक वर्ष अनुगमन र मूल्यांकन गरेकै छौं । कार्यसम्पादनमा कमजोर भएका विषयहरुलाई के गर्ने भन्ने अन्योल छ । तर, हामीले सम्बन्धित ठाउँमा रिपोर्टिङ गर्नुपर्ने छ । ’
संविधानअनुसार कारबाहीका लागि अख्तियार र अदालतको स्पष्ट व्यवस्था रहेको उनले उल्लेख गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया