राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र गठबन्धनलाई जिताउन नेविसंघ र तरुण दलको निर्देशन

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठनहरु नेपाल विद्यार्थी संघ (नेविसंघ) र तरुण दलले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपील गरेका छन् ।

आज एक परिपत्र जारी गर्दै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनमा आवद्ध सबै दलका उम्मेदवारहरुलाई विजयी गराउनका लागि आग्रह गरेका छन् ।

‘नेपालको संविधानको रक्षा, राजनीतिक स्थायित्व, सुशासन, दिगो शान्ति, विकास, समृद्धि र सामाजिक न्याय प्राप्तीका लागि यही मिति २०८० साल माघ ११ गते बिहीबारका दिन सम्पन्न हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस तथा गठबन्धनका साझा उम्मेदवारहरुलाई विजयी गराउन नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य ज्यू, जिल्ला कार्यसमिति, क्याम्पस ईकाई लगायत सम्पूर्ण मातहतका निकायहरुलाई आ–आफ्नो ठाउँबाट रचनात्मक भूमिका निर्वाह गर्दै गठबन्धनका साझा उम्मेदवारहरुलाई अत्याधिक मतले विजयी गराउन हुन यसै परिपत्रमार्फत् निर्देशन जारी गरिएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनसँग आवद्ध दलका उम्मेदवारहरुलाई निर्वाचित गराउन आग्रह गरेका हुन् । साथै आफूले राष्ट्रिय सभा निर्वाचनमा खेलेको भूमिकाबारे केन्द्रीय कार्यालयमा जानकारी गराउन समेत आग्रह गरेका छन् ।

‘प्रस्तुत विषयमा यही २०८० साल माघ ११ गते राष्ट्रियसभा सदस्य पदको निर्वाचन ७ वटै प्रदेशहरुमा हुन गैरहेको व्यहोरा स्मरण गराउँदै उक्त निर्वाचनमा नेपाली कांग्रेस पार्टी र कांग्रेससँग गठबन्धनमा रहेका दलका साझा उम्मेदवारहरुलाई विजय गराउन नेपाल तरुण दलका तपाई सम्पूर्ण केन्द्रीय सदस्य साथीहरुलाई आ–आफ्नो जिल्ला, क्षेत्र र पालीकाहरुमा महत्वपूर्ण भूमिका खेल्न यसै सूचनामार्फत आग्रह गरिएको छ। साथै तपाईहरुले आ–आफ्नो तर्फबाट खेल्नुभएको भूमिकाको जानकारी केन्द्रीय कार्यालयमा समेत गराउनु होला’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?