…त्यो यात्रा–७

भानू दाहाल –

विहानको आठ बजिसकेछ । मेसेन्जरको रिङले बिउँझाईदियो । आँखा मिच्दै हेरेँ, कल उनैको थियो । हिजो राती मसाज गराएको कुरा निक्कै साहस बटुलेर मेसेज छोडेको थिएँ । सोचेँ– अव उनको या त भावनात्मक धम्की आउँछ या ब्रेकअपको प्रस्ताव । 

 

एक मनले भन्यो– विहान विहानै मुड खराव गर्न के फोन रिसिभ गर्नु ! आ.. होस् ! फेरी अर्को मनले भन्यो– फोन नउठे सम्म गर्न छोड्ने होईन क्यारे ! उस्तै परे अहिले यँहि आईपुग्न बेर छैन । बरु जे भएपनि फोन रिसिभ गर्नुनै उचित छ । 

 

गाला च्यातिनेगरि हाई काड्दै कल रिसिभ गरेँ, ‘गुड मर्निङ बेबी !’

 

‘मसाजवाली गई कि सुतिरा’छे ?’

 

‘खै उसैलाई सोध्नु पर्छ ।’

 

‘मैले तिम्रो बेडको कुरा गरेको’, उनले अलि ठुलो स्वरमा भनिन्, ‘नाटक नगर ।’

 

मेरो बेडमा मसाज मात्र बाँकी छ, वाली छैन । मैले जिस्किदै भनेँ । 

 

मसाज मात्र गराएको हो, दायाँबायाँ केही भएन भन्ने कुरामा विश्वास दिलाउन ठुलै प्रयत्न गरेँ । तैपनि उनले विश्वास गरे जस्तो गरिनन् । अन्तिममा भनिन्, ‘रातिको तिम्रो टेक्स्ट देखेर म लगभग तिमीबाट टाढिने निर्णयमा पुगेको थिएँ । एउटा कारणले मात्र रोकिएँ ।’ 

 

‘के कारणले ?’ उत्सुक हुदै सोधेँ । 

 

‘तिमीले मसाज गराएको कुरा मलाई नभन्न पनि सक्थ्यौ । तर तिमीले ढाँटेनौ । जे हो सत्य त्यहि भन्यौ । मैले त परिक्षण गरिरहेकी थिएँ ।  

राती मैले नै मसाज डेक्सबाट तिम्रो रुममा कल गर्न लगाएको हो । तिमीलाई मसाज गर्न आउँने केटीसँग मेरो कल भईसकेको थियो । फर्किएपछि पनि कुरा भयो । 

तिम्रो मसाज गर्ने रहर पुरा गराईदिन मैले पताया देखीनै सोचिरहेको थिएँ । हिजो त्यो मौका मिल्यो ।  तिम्रो इच्छा पुरा हुँदा मलाई पनि त खुसी लाग्छ । मैले गोप्य रुपमा लिएको विश्वासको परिक्षा तिमीले पास ग¥यौ । मेरो विश्वास जित्यौ राजा, लभ यु ।’ 

उनले फोनबाटै किस गरिन् । जे कुराले गाली खाईएला भनेको त्यहि कुराले ताली पाईयो । तर, उनले यत्रो प्लान गरेर मेरो जाँच गरिरहेकी होलिन् भन्ने अनुमान मलाई एक प्रतिशत पनि थिएन । उनको चतु-याँई देखेर म छक्क परेँ । 

कतै मैले यसैगरी उनको परिक्षा लिएको भए चाँही के हुन्थ्यो ? लिएको भए, उनी माथी मैले अविश्वास गरेँ भन्ने अर्थमा झगडाको पहाड नै खडा हुन्थ्यो सायद । ठुलै मुल्य चुकाउनु पर्ने हुनसक्थ्यो । तर मैले एक बचन पनि किन यस्तो ग-यौ भनेर सोधिन ।  

 

घडि हेरेँ, नौ बजिसकेको थियो । तयार भईवरी ब्रेकफास्ट लिनु थियो । हिजो डेक्सवाली पोक्चीले दोहोराएरै दश बजे सम्म मात्र ब्रेकफास्टको टाइम रहेको बताएकी थिई । रुम चार्जमा त्यो पनि जोडिएको हुन्छ । असुरउपर गर्नु त परिहाल्यो । हतारहतार तयार भएर तल झरेँ ।

 

 बफेट सिस्टममा लहरै थाई खानेकुराहरु राखिएको छ । खानाको भेराईटी पचासथरीको छ । तर आँफुलाई स्वाद पर्ने खासै थिएन । दुई टुक्रा टोस्ट, एउटा पोच, अलिकति फ्रुट्स र कफी लिएँ । खाने मामलामा भन्ने हो भने मलाई थाईल्याण्ड वेस्वाद भईरहेको थियो । जे खाए पनि कि गुलियो कि खल्लो । कफी चाँही स्वाद परिरहेकै थियो । अर्को एक कप पनि थपेँ । 

 

डाईनिङ हलबाट बाहिर निस्कदै गर्दा उही डेक्सवाली पोक्ची बोलाई । पतायाबाट मेरो पासपोर्ट आईपुगेको रहेछ । पासपोर्टको बाहिर एउटा कागज टासिँएको थियो । त्यसमा त्यो होटलको नाम, ठेगाना सँगै मेरो नाम र रुम नम्बर लेखिएको थियो । तलपट्टि अलि सानो अंकमा तिन हजार भाट पनि लेखिएको थियो । त्यसको मतलव मैले त्यो रकम तिर्नु पथ्र्यो, कुरियर चार्ज । 

मनमनै हिसाव गरेँ, नेपाली नौ हजार । दश हजारमा बनाएको पासपोर्टको लागत अर्को नौ हजार थपियो । अव पासपोर्टको मुल्य उन्नाईस हजार भयो । ह्या ! पैसाको के कुरा ! झण्डै पासपोर्ट नै हराएको थियो । मनमनै मनलाई शान्त्वना दिएँ । पासपोर्ट बुझेको दस्तखत धस्काएर पोक्चीलाई धन्यवाद दिएर उनी बसेतिर लम्किएँ । उनी अघि देखी लबीमा मलाई कुरिरहेकी थिइन् । हातमा हल्लाउँदै बोकेको पासपोर्ट उनैलाई जिम्मा दिएँ ।  

आज हाम्रो सफारी वल्र्ड घुम्ने योजना छ । होटलबाट एक घण्टाको ड्राईभमा त्यहाँ पुगिन्छ । बाह्र बजे देखी पाँच बजे सम्म त्यहाँ हुने विभिन्न लाईभ शोहरुको सेड्युल छ । ठ्याक्कै दश बजे होटलमा थोमले मोटर पठाईदिन्छु भनेका थिए । बाहिर मोटर आईसकेको पनि थियो । हिजोकै ड्राईभर फिउ रहेछन्, लबी सम्मै लिन आए । हामी मुख्य शहरबाट बाहिर निस्किएर उत्तर तर्फ लाग्यौँ । 

दिन घमाईलो छ ।

निलो आकाशमा सेतो बादलका टुक्राहरु चलायमान देखिन्छन् । हाम्रो आकाशको बादल प्राय रिसाए जस्तो कालो देखिन्छ । तर त्यँहाको बादल भने नरिसाएको जस्तै लाग्थ्यो । सिरिर चलेको बाहिरको तातो बतासको भने अनुभव लिन मिलिरहेको थिएन । पक्कै पनि हाम्रो जस्तो मिठो बतास चाँही त्यँहाको थिएन । बाह्रै महिना गर्मी हुने देश हो थाईल्याण्ड ।

कहिले जमिनको चौडा सडक त कहिले फ्लाईओभर हुँदै हाम्रो यात्रा हुँदै थियो । टाउकोलाई दाँया वाँया घुमायो भने आँखाले नभ्याउन्जेल सम्म धान रोप्न ठिक्क पारेको खेत देखिन्थ्यो । थाईल्याण्डको मुख्य कृषि उत्पादन भनेको धान हो । जनसंख्याको चालिस प्रतिशत कृषि पेशामा आबद्ध छन् । कृषिको लागि व्यवस्थित रुपमा छुट्याएको जमिन प्रसस्तै देखिन्थ्यो ।  

कतैकतै झुरुप्प बस्तिहरु पनि छन् । कलेजी रङको छाना भएका एकैनासे दुईतले सयौँ घरहरु लामबद्ध देखिन्छन् । प्रत्येक घरलाई वरिपरी रुखले ढाकेको छ । झट्ट हेर्दा जंगल भित्र नै बस्ती बसाए जस्तो । तर होईन बस्ती भित्र जंलग बनाएको हो । घर वरिपरी रुख रोप्नै पर्ने अनिवार्य शर्त हुने रहेछ । हाम्रो यात्राको स्टेरिङ समातेका फिउले गाइडको काम पनि गर्दै थिए । थाई लवजमा उनले बोलेको ब्रोकन इंग्लिस बुझ्न भने कानै थाप्नु पथ्र्यो । बोलक्कड फिउले बाटोमा देखिएका कुराहरु व्याख्या गरिरहेका थिए । यो हाम्रो लागी बोनस सेवा थियो । 

एक घण्टामा हामी सफारी वल्र्ड लेखेको विशाल गेट अगाडी पुग्यौँ ।

थाईल्याण्ड पुग्ने पर्यटकलाई आकर्षित गर्ने ठाउँ हो सफारी वल्र्ड । झण्डै चार हजार रोपनी क्षेत्रफलमा फैलिएको खुल्ला चिडियाखानालाई दुई भागमा विभाजन गरिएको छ । एकातिर विश्वमा पाईने सयौँ जनावर, चराचुरुङ्गीहरु प्रत्यक्ष देख्न पाईन्छ भने अर्कोतिर तिनै जनावरको लाईभ सोहरु हेर्न पाईन्छ । 

फिउले हामीलाई मोटरमै राखिराखेर टिकट लिन गए । टिकट सँगै दिनभर हुने सोहरुको सेड्युल, सोहरु हुने ठाउँ पत्ता लगाउँने म्याप, लन्च कुपन र छाती वा पाखुरामा टाँस्नु पर्ने नम्बर लेखिएको गोलो स्टिकर लिएर आए । हाम्रोतिर भए तुन्द्रुङ्ग घाँटीमा झुण्डाउनु पर्ने पास हुन्थ्यो होला, त्यँहा चाँही नम्बरवाला स्टिकर थियो । देब्रे छातीमा ड्याम्म तिन सय छयालिस लेखेको स्टिकर टाँसेपछि मलाई झल्याँस्स चुनावताका कुनै पार्टीको मतदान चिन्ह भएको स्टिकर टाँसे जस्तै अनुभति भयो ।

 साँच्ची, थाईल्याण्डमा हुने चुनावमा पनि पार्टीहरुले त्यस्तै स्टिकर बनाउँछन् कि बनाउँदैनन् होला ? थाहा छैन । बेलाबेला राजा (सेना) र पार्टीहरु बीच तनाव भईरहे पनि नियमित चुनाव हुने देश हो । राजनीतिमा जतिसुकै अस्थिरता भएपनि देश विकासको मामलामा भने त्यसको असर परे जस्तै कतै देखिदैन । गोलमाल राजनीतिका बावजुद पनि देश विकास हुनसक्छ भन्ने उदाहरण दिने एउटा देश थाईल्याण्ड पनि हुन सक्छ । 

 

गेटमा मोटर पुगेसँगै घर्रर गेट खुल्यो । हाम्रो मोटर जनावरहरु भएको जंगलतिर लाग्यो । फिउले झ्यालका सिसाहरु पुरै बन्द गरेर सुस्तरी चलाएका थिए । गाडीको आवाजले जनावर, चराचुरुङ्गीलाई डिस्ट्रर्व गर्न नपाईने सूचना लेखेको बोर्ड छिर्ने वित्तिकै देखिन्थ्यो । कुनैपनि वेला जनावरले आक्रमण गर्न सक्छन् भनेर सचेत गराउँने बोर्ड पनि रुखमा झुण्डाएको थियोे । खतरनाक जंगली जनावर सँगको त्यति नजिकको भेट जीवनको पहिलो अनुभव थियो । 

म रोमान्चक हुँदै दायाँवायाँ टाउँको घुमाउँदै फोटो खिच्न व्यस्त थिएँ । उनलाई भने रमाईलो भन्दा बढी डर लागिरहेको रहेछ । अलि अगाडी पुगेपछि एउटा बडेमानको बाघ उनकै झ्याल नजिकै आएर ङ्वार्रर ग¥यो । उनको सातो उड्यो, मेरो पाखुरा समातेर लपक्कै टाँसिन आईपुगिन् ।  

मैले फेरी जिस्काएँ, ‘यसलाई पनि भन्देउ न मेरो होटल बुकिङ छ, 'पे' भईसकेको छ । आज बैंकक नफर्कि हुन्न ।’ 

‘अत्ति के हजुर त !’ त्यहि पाखुरामा चिमोट्दै भनिन्, ‘एउटै कुरा कति गर्नुपर्या होला !’

पतायाको टाईगर पार्कमा अस्ति बाघसँग बसेर फोटो खिचिरहेकी स्पेनिस गोरीलाई सम्झिएँ । पाँच सय भाट तिरेपछि बाघलाई अंगालो मारेरै फोटो खिच्न पाईने रहेछ । झण्डै पन्ध्र मिनेट सम्म त्यो स्पेनिले बाघसँग गरेको चर्तिकला कम्ता रोचक थिएन । उनलाई भने परबाट त्यो हेर्न समेत डर लागिरहेको थियो । त्यसैगरी फोटो खिच्न उनलाई पनि हौसाएको थिएँ । जानु त परको कुरा सुन्न सम्म आँट गरिनन् । 

त्यो जाली भित्र बन्द टे«ण्डबाघ थियो । यो त खुलेआम राजा बनेर हिड्ने बाघ हो । यो सँग त्यसैगरी फोटो खिचाउँने हो भने फोटो क्लिक हुदाँ सम्म आफ्नो आहारा बनाईसक्थ्यो । 

 

‘यो सँग फ्रिमा फोटो खिचाउँन पाईन्छ ।’ उनीतिर हेर्दै भनेँ, ‘झ्याल खोल्दिउँ त सेल्फि हान्ने हो ?’ 

 

उनले आँखा तर्दै भनिन्, ‘अहिले प्वाक्क हानेर नाक कुच्याईदिन्छु अनि थाहा हुन्छ ।’  

 

झण्डै पौने घण्टा घुमाएर फिउले हामीलाई अर्को गेटमा पु¥याए । त्यँहा भित्र सात वटा लाईभ सोहरु हुने ठाउँ थियो । हामीलाई भित्र पठाईदिएर बेलुका भेट्ने शर्तमा उनी फर्किए । बाह्र बजे देखी बेलुका छ बजे सम्मको विभिन्न शोको सेड्युल थियो । बिचमा दुई बजे आधा घण्टाको लन्च ब्रेक पनि । 

 

हातमा बोकीराखेको ‘टुडेज् शो’ लेखेको सेड्युल हेरेँ, बाह्र बजे ‘ओर्याङ उतान’ शो थियो । अव त्यो सो हुने ठाउँ भेट्याउन महाभारत थियो । जंगलभित्र जिकज्याक बाटो छ, भुलभलैयामा घुमेजस्तो । एरोले संकेत गरेको बाटो पछ्याउँदै गयौँ । पन्ध्र मिनेट हिँडेपछि पुगियो, शो सुरु भईसकेको रहेछ । स्टेडियममा खचाखच भिड थियो । बडेमानका स्पिकरमा ठुलो आवाजमा साउण्ड थियो । स्टेजमा ट्रेण्ड चिम्पान्जिहरु मान्छे जस्तै हर्कत गर्छन् । मान्छेसँग जिस्किन्छन्, खेल्छन्, विभिन्न स्टन्टहरु देखाउँछन् । आधा घण्टाको सो सकिएपछि त्यो सानो स्टेडियमबाट हामी बाहिर निस्क्यौँ । 

 

अब पन्ध्र मिनेटपछि अर्को स्टेडियमा ‘सि लायन’ शो हुँदै थियो । बाटोमा राखेको एरोवाला बोर्ड हेर्दै भुलभुलैयावाला बाटो पार गरेर पुग्न उति नै समय लाग्यो । सि लायनहरु पनि मान्छेले भनेको बुझ्छन्, अ¥हाए अनुसार काम गर्छन् । त्यसैगरी पन्ध्र मिनेटको फरकमा फरक–फरक ठाउँमा डल्फिन शो, इलिफेन्ट शो थियो । बीचमा लन्च ब्रेक सकिएपछि बर्ड शो, स्पाई वार, काउ बोई स्टन्ट थियो । 

 

डल्फिन, हात्ती, चराहरुको शो प्रत्यक्ष आफ्नै आँखाले हेर्दा पनि आँफैलाई विश्वास गर्न गाह्रो लाग्ने । जनावर, चराहरुले कसरी मान्छेको भाषा बुझ्छन् ? कसरी त्यस्तो क्रियाकलाप गर्न सक्छन् ? सोच्न सम्म नसकिने कुराहरु गरेको देख्दा अचम्म लाग्ने थियो । हरेक शो आधा घण्टाको हुने रहेछ । आँखा झिमिक्क नपार्दै समय सिद्धिएको पत्तै हुन्न थियो । काउ बोईहरुको खतरनाक स्टन्ट र प्रत्यक्ष बम पड्काएर, हेलिकप्टर उडाएरै गर्ने स्पाईवार भने कमजोर मुटु हुने मान्छेलाई हेर्न सकस नै पर्ने थियो । 

 

सबै शोहरु हेरिसक्दा बेलुकाको छ बज्यो । फिउले दिउँसो छुट्टिने बेलामा मोटर पार्किङ गरेको ठाउँ देखाउँदै छ बजेपछि त्यहिँ आउन भनेका थिए । गेटबाट निस्किदै गर्दा छेउमै उनले तिनवटा कोन आइसक्रिम किनिन् । 

 

मैले अनौठो मानेर सोधेँ, ‘दुई जनालाई तिनवटा ?’

‘एउटा ड्राईभरलाई’

‘उसले खाँदिन भन्यो भने ?’ फेरी सोधेँ । 

‘मै खाईदिन्छु ।’ मुसुक्क मुस्कुराउँदै भनिन् । 

 

दिनभरिमा एक किलो आइसक्रिम खाईसकेकी थिईन् होला । अझै उनलाई धित मरेको थिएन । धन्न, चटपटे र पानीपुरी नपाईने रहेछ । पाइने भएको भए आधा दिन त्यसैमा वित्थ्यो । नेपालको सबैभन्दा बढी त्यहि मिस भईरहेको निक्कै पटक सुनाईसकेकी थिईन् । 

 

साँझ पर्दै थियो । टाढा–टाढा पुगेका चराहरु गुड फर्किदै थिए, हामी पनि बास बस्न होटल फर्किदै थियौँ । चरा र हामी मात्र होईन खुद घाम पनि बास बस्न जाँदै थियो कतै । माटो भिजाउन खेतमा टिलपिल हुनेगरि पानी भरिएको थियो । त्यो भित्र अस्ताउँन लागेको सुर्यको आकृति देखिन्थ्यो । ह्वास्स आउने हिलो माटोको गन्ध सुध्दै, कताकतै झ्याउँकिरीको आवाज सुन्दै एकतमासको यात्रामा थियौँ । 

 

निक्कैबेर देखी बाहिर हेरिरहेकी उनले मतिर फर्किदै भनिन्, ‘अव क्रुज डिनर जाऔँ है ।’

‘आज त ढिला भईसक्यो’ मैले घडी हेर्दै भनेँ, ‘थकाई पनि लागेको छ, भोली जाउँला ।’

उनले हुन्छ भन्ने अर्थमा टाउको हल्लाईन् । 

 

क्रुज डिनर सात बजेबाट सुरु हुन्छ । बाटोमै सात बज्न लागिसकेको थियो । बरु इण्डियन रेष्टुरेन्टमा डिनर जाउँ भनेर प्रस्ताव गरेँ । नेपाली स्वाद नै नपाएपनि कम्तिमा दाल–भात त खान पाइन्थ्यो । दाल–भातको निक्कै न्यास्रो लागिसकेको थियो । आफुले थाहा पाए देखी एकदिन भन्दा बढी नखाएको कुनै रेकर्ड थिएन । यो त छैटौँ दिन भईसकेको थियो ।

फिउलाई होटल वरिपरिकै कुनै राम्रो इण्डियन रेष्टुरेन्टमा ड्रप गरिदिन भनेँ । पाँच मिनेटको पैदल दुरीमा पन्जाबिको चर्चित रेष्टुरेन्ट रहेछ । 

पन्जाविको रेष्टुरेन्ट भनेपछि आँफुलाई मटन बिर्यानीको सम्झनाले मुखै रसाउँछ । तर आज बिर्यानी खानु थिएन । सेतै फुलेको दाह्री जुँगा, आफ्नै खुट्टा हेर्न नमिल्ने गरी बढेको यामानको पेट भएका हँसमुख पन्जावि साहुजीले हिन्दीमै स्वागत गरे । अँ.. यिनले पनि हामीलाई इण्डियन नै भन्ठाने । केही छैन एकछिनलाई इण्डियन नै बनिदिदा हाम्रो के जान्थ्यो र ! हामी नेपाली हौँ भनेनौँ । 

थाईल्याण्डको चर्चित सिँघा वियरको धित अझै मरेकै थिएन । मटन कवाफसँग टुप्लुक्क टेबलमा आईपुग्यो । उनी सँग यो तेस्रो पटकको चिर्यस थियो । पल्लो टेबलमा अर्को एक जोडी पनि मस्त गफमा थियो । केटा उत्साहित देखिन्थ्यो, केटी चाँही उदास ।

हामी वल्लो टेबलमा नेपालीमा गफ गरिरहेको सुनेर केटीले उत्सुक हुँदै हामीतिर हेरी । मनमनै अनुमान लाएँ– यो केटी पक्कै नेपाली हुनुपर्छ, केटो चाँही इण्डियन हो । उनीहरुले बोलेको हिन्दी टोनबाट यो छुट्याउँन गाह्रो थिएन ।

‘तपाईहरु पनि नेपालबाट हो ?’ उसले हामीतिर हेर्दै सोधी । 

‘हैन, बर्माबाट हो ।’ मैले जिस्किदै भनेँ ।

‘उफ्.. ! कति जिस्किनु प-या होला !’ मलाई आँखा तर्दै उनीतिर हेरर उनले भनिन्, ‘हैन ब्यारे हामी पनि नेपालबाटै हो ।’

थाईल्याण्डमा भेटिने नेपाली भाषी बर्मेलीलाई घर कहाँ हो भनेर सोध्नुभयो भने नेपाल हो भन्छन् । फेरी नेपालमा कुन ठाउँ हो भन्यो भने पश्चिम हो भन्छन् । पश्चिम कुन ठाउँ भनेर सोध्यो भने चाँही बल्ल बर्माको ठेगाना भन्छन् । अनि तपाई त बर्माको हुनुहुदो रहेछ त किन नेपाल भनेको भन्दा हाम्रो पुर्खा नेपालबाटै आएका हुन् नि त भन्छन् । तर, उनीहरुले आफ्नै घर बताउने नेपाल भने देखेका सम्म छैनन् । 

 

एउटा गैह्रसरकारी संस्थाको सेमिनारको लागी नेपालबाट गएको पाँच जनाको टोलीमा उनी पनि रहिछिन् । सार्क मुलुकहरुको प्रतिनिधित्व रहेको तिन दिनको सेमिनारको त्यो अन्तिम दिन रहेछ । प्रोग्राम सकिएपछि त्यँहि चिनजान भएको इण्डियन केटाले उनलाई डिनरमा ल्याएको रहेछ । तर त्यो केटाको व्यवहार देखेर उनी बेकारमा आईछु भन्ने पश्चतापमा परेकी थिईन् । त्यो केटाबाट कसरी छुटकरा पाउँने भन्ने सोचिरहेकै बेला हामीलाई भेट्नु उनलाई ढुंगा खोज्दा देउता मिले जस्तै भएछ । हामीसँग सहयोगको याचना गरिन् । 

 

बषौँपछि बल्ल सिकार भेटेको बाघ जस्तो हालतमा थियो केटो । यसो हेरेँ, सजिलै यसबाट फुत्काउन गाह्रै पर्छ जस्तो लाग्यो । झगडा गरेर हुने थिएन, दोस्ती गरेरै यसलाई चिप्ल्याउँछु भनेर मनमनै योजना बनाएँ । टेबल मर्ज गरेर गफगाफ र खानपिन गर्न थाल्यौँ । 

 

डिनरपछि केटोलाई मैले गफमा भुलाउँने, उनीहरु बाथरुम जाने वहनामा बाहिर निस्किएर टुकटुक चढेर मेरै साथीको रुममा दुवै जना जाने योजना बनाएँ । उनीहरुले त्यसै गरे, पन्ध्र मिनेटपछि होटल आईपुग्यौँ भनेर उनले मेसेज गरिन् ।  

 

अव म त्यँहाबाट फुत्किनु थियो । डिनरको बिल तिरेँ । मैले उसको साथी भगाईदिएको केटोले चाल पायो । उ उधुम रिसायो । ‘त्यो केटी नआएसम्म तँलाई छोड्दिन’ भन्न थाल्यो । ल्याङ्ग गर्न थालेपछि मेरो पनि रिसको पारो चड्न थाल्यो । अलिअलि ड्रिंस गरेको झोँकमा फाईट नै खेलौँ कि भनेर बिचार पनि गरेँ । फेरी विदेशको ठाउँ पुलिस केस भएर अर्को लफडामा परिन्थ्यो । अव प्रहरीकै सहायता लिनुपर्छ भन्ने लाग्यो । 

 

गुगल खोलेर फर्रर टाईप हानेँ– हाउ टु कल पुलिस इन बैंकक ?  

जवाफ आयो– टुरिष्ट पुलिस कल ११५५, रेगुलर पुलिस कल १९१ अर १२३ । 

मनमनै भनेँ– थ्याङ्क्यु गुग्ले । 

क्रमश…

भानू दाहालद्वारा लिखित  कथाको पहिलो, दोस्रो , तेस्रो, चौथो, पाँचौँ र छैटौँ  भाग छुटाउनुभएको थियो ? तलको लिंकमा क्लिक गर्नुहोस् । 

…त्यो यात्रा  

…त्यो यात्रा –२

...त्यो यात्रा –३

त्यो यात्रा –४

…त्यो यात्रा –५ 

…त्यो यात्रा–६

समसामयिक विषयमा कलम चलाउने दाहालद्वारा लिखित कथाको आठौँ श्रृङ्खला अर्को साता  WWW. LOKPATH.COM मा प्रकाशन हुनेछ । WWW.LOKPATH.COM लाईक, कमेन्ट, सेयर र सब्स्क्राईब गर्न नभुल्नुहोला । हाम्रा भिडियोहरुका लागि युट्युवमा गएर  LOKPATH TV टाईप गरी सब्स्क्राईब गर्नुहोला ।)

 

दाहालद्वारा लिखित कविता : 

तिमिलाई छोरी मन पर्दैन ?

 

महाराज ! उडाइदिउँ केसीलाई

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?