हिन्दूराष्ट्र माग्ने कमल थापाले बनाए वार्ता टोली

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रि प्रजातन्त्र पार्टीले सरकारसँग वार्ता गर्न वरिष्ठ नेता दीपक बोहराको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । 

सोमवार बिहान बसेको राप्रपा शीर्ष नेताहरुको बैठकले बोहराको नेतृत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा सदस्य रहेको ३ सदस्यीय वार्ता समिति गठन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

राप्रपाले गत फागुन ७ गते नेपाल सरकार समक्ष पेश गरेको २२ बुँदे मागका सम्बन्धमा वार्ता गर्न आइतवार कानून मन्त्री भानुभक्त ढकालले सरकारका तर्फबाट पत्र लेखी वैशाख १० गतेका लागि वार्तामा आमन्त्रण गरेका थिए । 

सरकारको पहलकदमीलाई राप्रपाले सकारात्मक रुपमा लिँदै वार्ता कमिटी गठन गरेको हो । 

राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले मंगलवार दिउँसो १ बजे सिंहदरबारमा वार्ता हुने तय भएको जानकारी गराए । 

राप्रपाले देशलाई हिन्दुराष्ट्र बनाइनु पर्ने, राजतन्त्रको पुनर्स्थापना गरिनुपर्ने लगायतका माग गर्दै आन्दोलन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?