सातामा सेयर बजार : नेप्से दुई हजार ८८ अंकमा पुग्दा २५ अर्ब भन्दा बढीको कारोबार

लोकपथ
117
Shares

काठमाडौं । यो साता सेयर बजार केहीहदसम्म सुखद देखिएको छ । नियमित कारोबारको लागि पाँच कार्य दिन नै खुल्ला रहेको नेप्से तीन कार्य दिन लगातार बढेको थियो भने दुई कार्यदिन घटेको थियो । यसले गर्दा सेयर बजार परिसुचक नेप्से सातामा दुई हजार ८८ दशमलव ९९ अंकमा कायम रहन पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८४ दशमलव १४ अंकमा कायम रहन पुग्यो ।

धितोपत्र बजारमा यो साता तीन सय नौं वटा कम्पनीहरुको चार लाख ७४ हजार सात सय ६६ पटक सेयर किनबेच भएको छ । जसबाट आठ करोड २५ लाख ३७ हजार नौं सय ५१ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम २५ अर्ब ४७ करोड ७५ लाख ६३ हजार दुई सय १९ रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै १० अर्ब रुपैंयाँले बढी हो । गत साता यस्तो कारोबार रकम १८ अर्ब १५ करोड ८६ लाख सात हजार छ सय ४४ रुपैंयाँ मात्र रहेको थियो । गत साता कुल तीन सय छ वटा कम्पनीहरुको तीन लाख ९२ हजार नौं सय ९५ पटकको कारोबारमा चार करोड ९६ लाख ३० हजार आठ सय ७० कित्ता शेयर खरिद–बिक्री हुँदा उक्त परिमाणमा रकम कारोबार भएको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा यो साता पाँच कार्य दिन नैं खुल्ला रहेको नेप्से पहिलो र पाँचौं दिन घटेपनि यसबाहेकका बाँकी दिनहरुमा भने लगातार बढेको थियो । जसमध्ये पहिलो दिन २६ दशमलव ३६ अंकले घटेर दुई हजार २२ दशमलव ९२ अंकमा खुम्चिएको नेप्से दोस्रो दिन भने ३६ दशमलव ५७ अंकले बढेर दुई हजार ५९ दशमलव ४९ अंकमा पुग्न सफल भएको थियो । तेस्रो दिन पुन २० दशमलव ६२ अंकले बढेर दुई हजार ८० दशमलव १२ अंकमा चढेको नेप्से चौंथो दिन पनि नौं दशमलव ५० अंकले बढेर दुई हजार ८९ दशमलव ६२ अंकमा कायम रहन सफल भएको थियो । पाँचौं दिन भने नेप्से शुन्य दशमलव ६२ अंकले घटेर दुई हजार ८८ दशमलव ९९ अंकमा सिमित हुन पुगेको थियो ।

यसैगरी पहिलो दिन छ दशमलव १६ अंकले घटेर तीन सय ७३ अंकमा खुम्चिएको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन चार दशमलव २७ अंकले बढेर तीन सय ७७ दशमलव २८ अंकमा पुग्न सफल भएको थियो । तेस्रो दिन पनि पाँच दशमलव ६४ अंकले बढेर तीन सय ८२ दशमलव ९२ अंकमा पुग्न सफल भएको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पुन तीन दशमलव ४० अंकले बढेर तीन सय ८६ दशमलव ३३ अंकमा कायम रहन पुगेको थियो । पाँचौं दिन भने सेन्सिटिभ इन्डेक्स दुई दशमलव १९ अंकले घटेर तीन सय ८४ दशमलव १४ अंकमा सिमित भएको थियो ।

यो साता सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हिमालयन बैंकको संस्थापक सेयर, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी रकम कारोबार भयो भने शिवम सिमेन्ट, नेपाल पुर्नबीमा कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी संख्यामा सेयर किनबेच भयो । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?