आफ्नै बिहेको दिन भलिबल खेल्न गएका भलिबल कोच मनवीर छन्त्याल, ‘नोस्टाल्जिक’ हुँदै भन्छन्, बुबाको किरिया खर्चसमेत भलिबलमै सकें


लोकपथ
प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार ०५:२८

काठमाडौं । करिब ५ दशक अघि बागलुङमा जन्मिएको केटोलाई खेलभन्दा प्यारो केही थिएन । बुबा भन्थे ‘पढ्’, ती फुच्चे भलिबल खेल्थे । आमा भैंसी चराउन जा भन्थिन्, उनी फेरि भलिबलै खेल्थे । भलिबल उनलाई खाना भन्दा प्यारो थियो । खेलेरै अघाउँथे । खेलेरै गल्थे फेरि आराम पनि खेलमै पाउँथे । ‘खुसी’ र ‘खेल’मा खासै ठूलो अन्तर थिएन उनको जीवनमा ।

खेती, किसानीमै सीमित त्यसबेलाका मान्छेहरु अहिले जस्तो लक्ष्य र सपनाका कुरा गर्दैनथिए । यदि गर्दा हुन् त ती फुच्चेले पनि भन्ने थिए ‘म भलिबल खेलाडी बन्छु’ । 

युवावस्थामा खेलाडी बन्न नपाएका ती बालक अहिले खेलाडी जन्माउने प्रशिक्षक भएका छन्, उनीहरुका निमित्त अवसर फूलाउने माली भएका छन् । भलिबलको संरक्षणमा अहोरात्र खटिने सुरक्षा गार्ड भएका छन् । उनी हुन् मनवीर छन्त्याल, ढोरपाटन क्लबका संस्थापक अध्यक्ष तथा नेपाल भलिबल संघका सचिव ।

३ दशक बढी भयो न मनवीरले भलिबल छोडेका छन् न त भलिबलले उनलाई । त्यही गोलो बलको वरिपरि फनफनी घुमिरहेको छ उनको जिन्दगी : कहिले प्रशिक्षक भएर, कहिले आयोजक, कहिले संघका पदाधिकारी र केही समय अघि खेलाडी भएर पनि ।

किनकी अरुजस्तो उनी भलिबलको स्तरोन्नतिको नारा पिट्दैनन् बरु आफै फिल्डमा उत्रिन्छन् । खटिन्छन् । पदले उनी नेपाल भलिबल संघका सचिव हुन् तर, उनलाई भलिबल टुर्नामेन्टको पोस्टर बाँड्न दगुरिरहेको पनि देखिन्छ । कहिले खेलाडी सँगसँगै खेलिरहेको अवस्थामा पनि भेटिन्छ ।

यद्यपि, खेलाडी भन्दा पनि उनको छवि आयोजक र नेपाल भलिबल संघका पदाधिकारीका रुपमा अझै सशक्त छ । किनकी अरुजस्तो उनी भलिबलको स्तरोन्नतिको नारा पिट्दैनन् बरु आफै फिल्डमा उत्रिन्छन् । खटिन्छन् । पदले उनी नेपाल भलिबल संघका सचिव हुन् तर, उनलाई भलिबल टुर्नामेन्टको पोस्टर बाँड्न दगुरिरहेको पनि देखिन्छ । कहिले खेलाडी सँगसँगै खेलिरहेको अवस्थामा पनि भेटिन्छ । करिब एक दर्जन स्कुलहरुमा प्रशिक्षकका रुपमा काम आफ्नो ऊर्जावान् २ दशक बढी समय खर्चिएका मनवीरले भलिबल प्रतियोगिता आयोजना गरेर यसमा मरिमेट्ने युवा मनहरुका निमित्त अवसर पनि जन्माइदिएका छन् ।

उनमा ‘अनुभव’ को अहमता छैन । पदको ‘लोभ’ छैन । साधारण जीवन जिउँछन् । त्यसो त ३ दशक लामो भलिबलसँगको यात्रामा उनले नकमाएका होइनन् । आजभन्दा २०, २५ वर्ष अघि देखि ७ वटा भन्दा बढी विद्यालयमा स्पोर्टस् टिचरका रुपमा काम गरेर त्यो समयमा पनि महिनाको ८० हजारभन्दा बढी कमाएको बताउँछन् मनवीर । तर, त्यो पैसा उनले जमाउन सकेनन् । भलिबलमै लुटाए समय र सम्पत्ति दुवै । 

‘भलिबलले मलाई सबैथोक दियो त्यसैले मैले पनि भलिबललाई नै आफ्नो सबैथोक दिएँ,’ ४८ वर्षीय छन्त्याल भन्छन्, ‘अहिले न ऋण छ न धन ।’ 

हरेक वर्ष राष्ट्रकै सबैभन्दा ठूलो महिला तथा पुरुष भलिबल लिग च्याम्पियनसिप आयोजना गरेर टिमलाई मात्र नभएर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत आकर्षक पुरस्कारराशी वितरण गर्छन् छन्त्याल । खेलाडीहरुलाई प्रोत्साहन स्वरुप आफूले पुरस्कार दिने उनी बताउँछन् । ‘जबसम्म खेलाडी खुसी हुँदैनन् खेलको उन्नति हुँदैन,’ छन्त्याल अगाडि थप्छन्, ‘त्यसैले उनीहरुको खेल कौशलतालाई अझै निखार्न पुरस्कारहरुले प्रोत्साहन गर्छ ।’

काँक्रा, खसी हुँदै स्कुटरसम्म

वि. सं २०२८ सालमा बागलुङको बुर्तिबाङ गाविसमा जन्मिएका मनवीर पाखापखेरामै हुर्किए । गाउँले जीवनमै भिजे । यही बन्छु भन्ने लक्ष्य राख्दैनथिए उनका उमेरका युवाहरु । खेतीकिसानी गर्ने या लाहुरे हुने (विशेषतः मत्वाली समुदाय) योभन्दा अरु विकल्प खासै हुँदैनथियो । त्यसैले मनवीरले पनि राष्ट्रिय खेलाडी बन्ने, अन्तर्राष्ट्रिय स्तरका खेल खेलेर नाम कमाउने महत्वकांक्षा कहिल्यै पालेनन् ।

बरु सानैदेखि गाउँभरिका साथी बटुलेर प्रतिस्पर्धा गराउँथे । विजेताका निमित्त आफ्नो स्तर अनुसारको पुरस्कार पनि राख्थे । प्राय काँक्रा हुन्थ्यो उनले राख्ने पुरस्कार । कहिलेकाहीँ काठ ताछेर आफै ट्रफी पनि बनाउँथे । त्यसमा चुरोटको प्याकेटमा हुने टल्किने कागज काटेर चन्द्र, सूर्य, तारा बनाएर टक्क ट्रफीको माथिङ्गलमा टाँसिदिन्थे ।  आफू पनि खेल्थे तर, खेलाउन पाउँदा झन् रमाउँथे । एक किसिमको लिडरसिप क्वालिटी पहिल्यैदेखि थियो उनमा ।

समय फेरियो तर, नानीदेखि लागेको बानी फेरिएन । अहिले पनि राष्ट्रिय स्तरको सबैभन्दा ठूलो भलिबल टुर्नामेन्ट मनवीर नै आयोजना गर्छन् । प्रत्येक वर्ष ‘ढोरपाटन महिला भलिबल लिग च्याम्पियनसिप’ आयोजना गरेर विभिन्न विधामा खेलाडीलाई स्कुटर बाँड्छन् । लिगको १४ औं संस्करणसम्म आइपुग्दा आफूले ३४ वटा स्कुटर प्रदान गरिसकेको मनवीरले सुनाए ।

गाउँ छोडेर उच्च शिक्षाका लागि काठमाडौं आउँदा समेत आफूमा ‘आयोजक’ को त्यो आत्मा जीवित नै रहिरहेको उनले बताए । ‘ठाउँ परिवर्तन हुँदैमा आफ्नो मन कहाँ परिवर्तन हुन्छ र,’ काँक्राबाजीबाट प्रमोसन भएको बताउँदै उनले अगाडि थपे, ‘काठमाडौं आएपछि खसीबाजी आयोजना गरें ।’ 

समय फेरियो तर, नानीदेखि लागेको बानी फेरिएन । अहिले पनि राष्ट्रिय स्तरको सबैभन्दा ठूलो भलिबल टुर्नामेन्ट मनवीर नै आयोजना गर्छन् । प्रत्येक वर्ष ‘ढोरपाटन महिला भलिबल लिग च्याम्पियनसिप’ आयोजना गरेर विभिन्न विधामा खेलाडीलाई स्कुटर बाँड्छन् । लिगको १४ औं संस्करणसम्म आइपुग्दा आफूले ३४ वटा स्कुटर प्रदान गरिसकेको मनवीरले सुनाए ।

‘काँक्रा, खसी हुँदै अहिले स्कुटरसम्म पुगेको छु,’ मुस्कुराउँदै छन्त्याल भन्छन्, ‘आगामी दिनमा अझै माथि नजाउँला भन्न सकिन्न ।’

‘आफ्नै बिहेको दिन भलिबल खेल्न गएँ’

भलिबलका लागि यतिसम्म गरें भन्नलाई मनवीरसँग अनेकन रमाइला किस्साहरु छन् । हरेक किस्सा उत्तिकै रमाइला अनि अपत्यारिला । आफ्नै विवाहको दिन मनवीर जन्ती जानुको साटो भलिबल खेल्न गएका छन् ।

मनवीरको घरको परम्पराअनुसार दुलही भित्र्याएको केही वर्षपछि मात्रै दुलहीसँगै उनको घर जन्ती लिएर जाने र विधि पु-याएर फेरि ल्याउने चलन थियो । त्यसदिन उनी दुलही र जन्तीसँगै दुलहीको घर गएनन् । बीचमै बाटो मोडेर भलिबल खेल्न पुगे राति चाँडै आइपुग्ने वाचाका साथ । खेल्दाखेल्दै रात प-यो । जङ्गलको बाटो दगुर्दै, असिनपसिन हुँदै बेहुलीको घर पुग्न कम सकस भएन उनलाई । पुग्नासाथ सबैले गाली गरेको र हतारहतार विधि पु-याएर अर्को दिन मात्रै फर्किएको त्यो क्षण कहिल्यै नबिर्सिने बताउँछन् मनवीर ।

बुबा इन्डियन आर्मी भएकाले उनको मृत्युपछि काजकिरिया खर्चका लागि केही रकम आउने वाला थियो जसलाई लिन पुगे मनवीर । पैसा लिएर उनी बाटैबाट चैते मेलामा भलिबल खेल्न पुगे । विजेतालाई पुरस्कार स्वरुप त्यही ‘किरियाखर्च’ दिए ।

यही घटनामा जोड्दै उनले बुबाको किरिया खर्चसमेत भलिबलमै सकेको अर्को घटना सम्झिए । बुबा इन्डियन आर्मी भएकाले उनको मृत्युपछि काजकिरिया खर्चका लागि केही रकम आउने वाला थियो जसलाई लिन पुगे मनवीर । पैसा लिएर उनी बाटैबाट चैते मेलामा भलिबल खेल्न पुगे । विजेतालाई पुरस्कार स्वरुप त्यही ‘किरियाखर्च’ दिए । घर फर्किएपछि नमीठो गाली खाएको बताउँदै उनी भन्छन्, ‘भलिबलमा पैसा सक्न मलाई कहिल्यै लोभ लागेन, न पहिले न अहिले ।’

अरुलाई अवसर दिनेको आफ्नै टिम कमजोर ?

मनवीर ढोरपाटन क्लबका संस्थापक अध्यक्ष हुन् । कुनै समय राष्ट्रिय खेलाडीहरु समेत उत्पादन गरेको उक्त क्लब अहिले सेलाएकोमा उनलाई दुःख लाग्छ । ढोरपाटनको आफ्नै भलिबल ग्राउन्ड पनि छ नयाँ बसपार्कमा जहाँ दिनैभरि भलिबलका पारखीहरु आएर सिक्छन् । खेल्छन् । त्यही ग्राउन्डले कुनै समय उत्कृष्ट खेलाडीहरु जन्माएको पनि हो । अहिले भने ढोरपाटन क्लबको नाम विजयी सूचीमा खासै सुनिदैन । 

‘अरुका लागि आयोजना गरेर मात्रै भएन अब आफ्नै क्लबलाई पनि सशक्त बनाउनुप-यो’ मनवीरलाई चिन्ने केही व्यक्तिले यस्तै सल्लाह दिँदै आएका छन् आजभोलि । यही सल्लाहलाई आत्मसाथ गरेर अबको दिनमा क्लबलाई सशक्त बनाउनमा लाग्ने योजना भएको मनवीरले सुनाए । 

‘क्लबलाई आगो बनाउनुपर्छ भने साथीहरुले भनेका छन् त्यसै गरौंला,’ यसपटक आशाको सानो झिल्का उनको आँखामा पनि बल्यो ।
 

Tags :
प्रतिक्रिया दिनुहोस
नेपाली आकाशबाट देखिएका लोभलाग्दा १० दृश्य (फोटोफिचर)

काठमाडौं । अहिले मानिसहरु निकै हतारमा हुन्छन् । थोरै समयमा धेरै काम गर्नुपर्छ

शिल्पा पक्राउ नपर्नुको कारण यस्तो छ…

काठमाण्डौं । नायिका शिल्पा पोख्रेलले घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएपछि यो

तिजको दरमा प्रशासनको खटन : पुरुषवादी मनोवृत्तिको उपज कि संस्कृतिको जर्गेना ?

काठमाण्डौं । काभ्रे, धादिङ, रूपन्देही, कास्की, पर्वत, स्याङ्जा लगायतका जिल्ला प्रशासन कार्यालयले पार्टी

यस्तो बन्दैछ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)

काठमाडौं । सर्वाधिक चासोमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण कार्य ७४