‘तपस्वी’ को आवरणमा कुकर्म, कहाँबाट आयो करोडौँको गाडी र अवैध धन ? (भिडियोसहित)

लोकपथ
476
Shares

काठमाडौं । ‘लिटिल बुद्ध’ को उपनामले समेत परिचित रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

लामो समयदेखि प्रहरीको खोजिमा रहेका बम्जनलाई मंगलबार राति प्रहरीले उनको निवास हात्तिगौँडाबाट पक्राउ गरेको हो ।

उनीमाथि बालयौन दुराचार, व्यक्तिहत्या, बलात्कारसहित मानव बेपत्ता लगायतका आरोपहरु रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोली विशेष सुरक्षा फोर्ससहित उनको निवास पुगेको थियो । तर उनी भाग्ने प्रयास समेत गरेका थिए । घरको दुई तला माथिबाट भाग्न हामफालेका उनलाई सिआईबीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

उनलाई प्रहरीले लामो समयदेखि खोज्दै आइरहेको थियो । प्रहरीको उच्च निगरानीमा रहेका कारण उनी ठाउँ परिवर्तन गर्दै बस्दै आइरहेका थिए । यसअघि पनि प्रहरीले विभिन्न आश्रमहरुमा छापा मारेको थियो । तर उनी पटकपटक पक्राउ हुनबाट उम्किँदै आइरहेका थिए ।

तपस्वी आवरणका तस्बिरहरु सार्वजनिक भइरहे पनि उनको जीवनशैली भने तपस्वी जस्तो छैन ।

परिवारका साथ २ महिनादेखि हात्तिगौँडास्थित निवासमा बस्दै आएका उनलाई पक्राउ मात्र गरेन उनको घरबाट नेपाली र विभिन्न देशका गरी करोडौँ नगदसहित अन्य सामग्री समेत बरामद गरेको छ ।

सिआईबीको टोलीले उनको निवासबाट ३ करोड ३ लाख ७५ हजार नेपाली रुपैयाँसहित विभिन्न १७ देशका ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ गरी कुल ३ करोड ३४ लाख ३७ हजार रुपैयाँ बरामद गरेको छ । त्यस्तै विभिन्न कम्पनीका १४ थान मोबाइल, २० थान पेनड्राइभ, ५ थान आइप्याड समेत प्रहरीले बरामद गरेको छ । त्यतिमात्र होइन करोडौँ पर्ने गाडीहरु र २ वटा मोटरसाइकल रहेको खुल्न आएको छ ।

उनको साथबाट ३ बटा मोटरसाइकलका बिलबुक, टोयटा हाइलक्स गाडीको चाबी समेत प्रहरीले बरामद गरेको छ ।
त्यसैगरी अनुसन्धानको क्रममा प्रदेश–३–०१ ०२४ च ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको तेसो टोयटा फच्र्र्यूनर गाडी प्रयोग गर्ने गरेको खुलेको छ ।

त्यस्तै ल्याण्ड क्रुजर जेड एक्स गाडी प्रयोगका लागि ललितपुर महानगरपालिका वडा नं २२ बुङमती बस्ने ४५ वर्षीय पनित महर्जनको नाममा ५ करोडमा बुक भएकोमा ३ करोड भुक्तान भइ खरिदको क्रममा रहेको समेत खुल्न आएको सिआइबीले जनाएको छ । उनले उक्त गाडी धुम्बाराहीस्थित युनाइटेड ट्रेडर्स स्यान्डिकेट प्रालि शोरुमबाट खरिद गर्न लागेका थिए ।

त्यसैगरी उनले क्रस फायर बाइक, ३९० सिसी को केटियम ड् यूक बाइक, यमाहा रे जेडआर स्कुटर समेत गरी ४ वटा मोटरसाइकल प्रयोग गर्ने गरेका थिए । अनुसन्धानको क्रममा खुल्न आएका यी सवारीको विषयमा भने प्रहरीले खोजबिन गरिरहेको छ ।

वर्षौदेखि विभिन्न आरोपमा प्रहरीले उनलाई खोजि गरिरहेको थियो । उनका विभिन्न आश्रमबाट विभिन्न मितिमा हराइरहेका अनुयायीका आफन्तहरुले खोजिका लागि भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

को-को छन् गायब ?

विभिन्न जिल्लाका उनको आश्रममा पुगेका व्यक्तिहरु त्यँहीबाट गायब भएको भन्दै खोजीको मागसहित परेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । उनको विभिन्न आश्रमबाट ४ जना हराइरहेको भन्दै उजुरी परेको छ ।
बुधबार दिउँसो ब्यूरोले पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार चुम्बा भनिने २९ वर्षीया चिनिमाया तामाङ, डोलो भनिने ३० वर्षीया फुलमाया रुम्बा, ५१ वर्षीय सन्तलाल वाइबा र ३४ वर्षीय सरोजकुमार आले हराइरहेका छन् । चिनिमाया बम्जनको आश्रम सिन्धुपाल्चोकको बाँडेगाउँबाट ०६९ सालबाट हराइरहेको प्रहरीमा उजुरी परेको छ । त्यस्तै सिन्धुुपाल्चोककै बाँडेगाउँबाट सन्तलाल २०७१ साल चैत १४ गतेबाट हराइरहेको प्रहरीमा उजुरी रहेको छ । त्यसैगरी ०७१ साल माघमा बाँडेगाउँबाटै अर्की फुलमाया गायब भएकी थिइन् भने सरोजकुमार आले ०७२ सालमा निजगढबाट गायब भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

२०७६ सालदेखि फरार थिए बम्जन

२०७१ साउनमा साउनमा बम्जनको आश्रममा आनीको रुपमा रहेकी एक अनुयायीले उनीविरुद्ध बाल यौन दुराचार मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालत सर्लाहीले उनलाई बाल यौन दुराचार मुद्दामा दोषी ठहर गर्दै २०७६ साल माघ २३ गते पक्राउ गर्न अनुमति दिएको थियो । तर निरन्तर फरार रहँदै आएका थिए । विभिन्न जंगलहरुमा तपस्या गरिरहेको तस्बिरहरु सार्वजनिक भइरहे पनि उनको अवस्था भने अज्ञात रहेको थियो ।

यसअघि पनि विभिन्न समयमा प्रहरीले उनलाई खोजी नगरेको होइन । कहिले जंगलभित्र बनाइएको आलिसान महल तथा कहिले उनको विभिन्न स्थानमा बनाइएको आश्रममा प्रहरीले छापा समेत मारेको थियो ।

प्रहरीको उच्च खोजिमा रहेका उनी पटकपटक ठाउँहरु फेर्दै बस्दै आइरहेका थिए । तर पटकपटक उनलाई पक्राउ गर्न असफल भएको प्रहरी यसपटक सफल साबित भएको छ । उनीसँग अवैध धन मात्र होइन ठूलो परिणाममा हातहतियार रहेको समेत आरोप लाग्दै आइरहेको छ ।

तर त्यसबारेमा भने अहिले केही पनि देखिएको छैन । यद्यपी हातहतियारका विषयमा समेत अनुसन्धान गरिने सिआइबीले जनाएको छ ।

त्यसो त बम्जन मात्र होइन आफूलाई धर्मगुरु बताउने अन्य व्यक्तिहरुले समेत धर्मका आडमा विभिन्न कुकर्महरु गर्ने गरेको सार्वजनिक भइरहेका छन् ।

तपस्वी अर्थात् साधक । आफ्नो साधनालाई उच्च कोटीमा पुर्याउँदै आफूूलाई अब्बल बनाउन काम, क्रोध, लोभ मोह यी सबै छाड्ने भन्ने बुझिन्छ । तर धर्मका आडमा कुकर्म गर्ने बम्जन प्रवृतिलाई समेत यो प्रकरण राम्रो सबक हुन सक्छ ।
शैक्षिक योग्यता कक्षा ५ मात्र भएका बम्जन कुकर्म र विवादका अर्को नाम हुन् । बम्जनका अहिलेसम्म आएका कुकर्मबाहेक अन्य कुकर्महरु समेत प्रहरी अनुसन्धानले देखाउला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?