अन्तिम अवस्थामा किन गरियो काठमाडौं महानगरको बैठक स्थगित ?

लोकपथ
133
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

२६औँ कार्यपालिका बैठकको निर्णय अनुसार आजबाट १४औँ नगरसभाको बैठक बस्ने भनिए पनि अन्तिम अवस्थामा स्थगित गरिएको हो ।

बजेटको छलफलका लागि तयारीका नपुगेका कारण बैठक स्थगित भएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले लोकपथलाई जानकारी दिए । साथै पुस भित्रै समय तोकेर नगरसभा बोलाइने उनले बताए ।

‘बजेट निर्माणको सन्दर्भमा छलफलका लागि समय नपुगेका कारण आजका लागि भनिएको बैठक स्थगित गरिएको हो । हामी पुस मसान्तभित्रै बैठक बोलाउनेछौँ ।’ मानन्धरले लोकपथसँग भने ।

बैठक निर्धारित समयमा नहुने भएपछि २३औं कार्यपालिका बैठकले नगरसभा छलफलका लागि लैजाने भनेको ‘जनप्रतिनिधिको सुविधासम्बन्धी ऐन २०७९ को संशोधन प्रस्तावसमेत अनिश्चित बनेको छ ।

तर केही दिन अघि मेयर बालेन्द्र शाह बालेनले अनियमितता गरेको आरोपमा महानगरका ३ कर्मचारीलाई निलम्बन गरेका थिए । कांग्रेस निकट मानिने ती कर्मचारीलाई निलम्बन गरेको भन्दै कांग्रेसका जनप्रतिनिधि रुष्ट रहेका छन् । जसको कारण उनीहरुको कारण बैठक स्थगित हुन पुगेको स्रोतको दाबी रहेको छ । नगरसभामा नेपाली कांग्रेसको बहुमत रहेको छ । तर कांग्रेस निकटका कर्मचारीहरुलाई त्यसरी निलम्बन गरेपछि उनीहरुको फुकुवाका लागि कांग्रेसका जनप्रतिनिधिले त्यसको भित्रि लबिइङ गरिरहेका छन् । जसको कारण आजको बैठकमा उनीहरु उपस्थित नहुने संकेत देखिएपछि बैठक स्थगित गरिएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?