खुल्यो सर्वोत्तम सिमेन्टको आइपिओ, क-कसले दिन पाउँछन् आवेदन?

लोकपथ
936
Shares

काठमाडौं ।आज (बुधबार)देखि  सर्वोत्तम सिमेन्टले आइपिओ निष्कासन गरेको छ।

पहिलो चरणमा उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सर्वोत्तम सिमेन्टले आइपिओ निष्कासन गरेको हो।

सर्वोत्तम सिमेन्टले उद्योग प्रभावित क्षेत्र नवरपारासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं. ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि ९ लाख ३० हजार कित्ता निष्कासन गरेको हो।

त्यसैगरी, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कम्पनीले २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेको हो।

कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले उक्त आइपिओको आवेदन खुला गर्न लागेको हो।

न्यूनतम ५० कित्ता सेयरका लागि लगानीकर्ताले आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

दुवै समूहका लगानीकर्ताले माघ १० गतेसम्म उक्त आइपिओमा आवेदन दिन सक्नेछन्। निर्धारित समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेको खण्डमा उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूले भने माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ। यसले कम्पनीको समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउँछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूले नवलपरासी जिल्लाको ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् भने खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै सिडिएस एण्ड क्लिरिङद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रणलीमार्फत् गरी आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?