काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको २६औँ राष्ट्रिय परिषद् बैठक २०८० पुस २०–२१ गते ११ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।
शान्ति समाजको केन्द्रीय तथा जिल्ला कार्यसमितिमा न्युनतम ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य रहेको अवस्थामा अव उप्रान्त ४० प्रतिशत पुर्याउने संकल्प प्रस्ताव पारित भएको छ ।
यसैगरी ‘चुरे ध्वस्त पार्न पाइदैनः मरुभुमिकरण गर्ने नीति चाहिदैँन’ शिर्षकको प्रस्तावमा बाह्य दबाबमा परेर चुरे ध्वस्त पारी ढुंगा गिटी निकासीको योजना पर्यावरणीय सन्तुलनका हिसाबले आपत्तिजनक भएको हुँदा चुरे ध्वस्त पार्नेे आत्मघाती नीति खारेज गर्न सरकारलाई आग्रह गरिएको छ ।
विकासको अधिकार अन्तर्गत राष्ट्रिय परिषद्ले तराई मधेशको जीवनरेखाको रुपमा रहेको हुलाकी सडकमार्ग शिघ्र सम्पन्न गर्न ध्यानाकर्षण र कर्णालीको उत्थानमा योगदान गर्न १० बुँदाको आग्रहसहित प्रस्ताव पारित गरेको छ । यसैगरी राष्ट्रलाई हानी पुर्याउने एनसेल महाघोटाला प्रकरण राज्य विरुद्धको अपराध भन्दै सो महाघोटाला विरुद्ध वृहत अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धमा संसदमा विचाराधिन विधेयकलाई मानव अधिकारमैत्री बनाई टुंगोमा पुर्याउन आग्रह गर्दै यस विषयमा संसद संवेदनशिल नबन्ने हो भने भविष्यमा विभिन्न खाले हस्तक्षेप निम्तिन सक्ने संभावनाप्रति समेत ध्यानाकर्षण गराइएको छ । वातावरणमा हानी गर्ने सामग्री प्रयोग नगर्ने संकल्पसहित २६औँ राष्ट्रिय परिषद् बैठकले लोकतन्त्रको प्राणः सुशासन र सद्भाव भएको स्मरण गराउँदै समुदायबिच स्थिर र सुमधुर सम्बन्धमा जोड दिएको छ ।
इजरायलको वर्वरता र हमासको आतंक विश्व शान्तिका लागि खतरा भएको भन्दै हमासद्वारा बन्धक बनाइएका विपिन जोशीसहित सबैको रिहाइको माग गरिएको छ भने इजरायलले गरेको मानवता विरुद्धको अपराधको निन्दा गरिएको छ । शान्ति समाजले कार्यक्रम गर्दा पृथक स्वरुपका केही कार्यक्रमलाई छाडेर सबै कार्यक्रमहरु नागरिक संवाद कार्यक्रमको रुपमा आयोजना गर्ने निर्णय पनि राष्ट्रिय परिषद्ले गरेको छ ।
राष्ट्रिय परिषद्कै उद्घाटन सत्रलाई पनि सोही अनुरुप परिमार्जन गरिएको थियो । वर्ष २०८१ को राष्ट्रिय परिषद् बैठक शान्ति समाजको चितवन र नवलपुर शाखाको संयुक्त आयोजनामा हुदैँछ भने २०८२, ८३ र ८४ को राष्ट्रिय परिषद् बैठक पाल्पा, सुर्खेत र महोत्तरी शाखाको आतिथेयमा गर्ने निर्णय पनि परिषद् बैठकले गरेको छ ।
शान्ति समाज पर्सा शाखाको आतिथेयमा सम्पन्न रा.प.बैठकमा ३२ जिल्ला शाखाबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु गरी १९१ जना को सहभागिता रहेको थियो । आयोजनाको खर्च आतिथेय पर्सा शाखाले र यातायात खर्च सहभागिहरु स्वयंले बहन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया