देशभर बम आतंक : जनजीवन भयवित बन्दै, काठमाडौंमा शून्य प्रभाव

काठमाडौं । प्रतिबन्धीत नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले आज (बिहीवार) नेपाल बन्दको आह्वान गर्यो । विप्लवको नेपाल बन्दसँगै देशभर शंकास्पद वस्तु भेटिने क्रम जारी छ । 
देशभर बिहानैदेखि बम तथा शंकास्पद वस्तु फेला परेको छ । बम तथा शंकास्पद वस्तु भेटिन थालेपछि कतिपय स्थानको जनजीवन त्रसित बनेको छ । 

विप्लवको बन्दले राजधानीसहित देशभरको विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।

आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव समूहले बन्दको आह्वान गरेको हो । यस्तै झूट्टा मुद्दा खारेजी, भ्रष्टाचार, तस्करी र राष्ट्रघातका विरुद्ध पनि नेपाल बन्द गरेकोे विप्लवले जनाएका छन् ।

त्यस्तै आज सबै कलकारखाना, शैक्षिक संस्था, यातायात, व्यापार व्यवसाय बन्द हुने र उसकै भाषामा अनैतिक फासिवादी सरकारलाई राजनीतिक मार्गमा तान्न प्रयत्न गरिने उल्लेख गरिएको छ ।
विप्लव समूह अहिले सरकारको प्रतिबन्धमा छ ।

कहाँ–कहाँ भेटियो शंकास्पद वस्तु 

बागलुङ जिल्ला सदरमुकामस्थित शिवधारा चोकमा आज बिहान शङ्कास्पद वस्तु फेला पर्यो । फेला परेको बम नेपाली सेनाले डिस्पोज गरेको छ । शिवधाराचोकस्थित होटल शीतलको पेटीमा एक मिटर लामो जीआइ पाइपमा खतरा लेखेर दुई तार जडान गरी राखिएको अवस्थामा बम फेला परेको थियो । 

त्यस्तै काभ्रेको पनौती–७, खोपासी जाने बाटोमा बिहानै शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । यद्यपि, उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

यसैबीच पाल्पामा बम विस्फोट भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका कार्यालय भवनमा बम विस्फोट भएको हो । बम विस्फोटबाट भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

यता बुटवल–भैरहवा सडक खण्डको कोटिहवाबाट बाउन्नकोटी जाने सडकमा बिहीवार बिहानै भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ नं. वडा कार्यालय अगाडि कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।

कार्यालयको गेट अगाडि कालो प्लाष्टिकमा राखिएको शंकास्पद वस्तु कुकरमा बम रहेको लेखिएको छ । शंकास्पद वस्तु भेटिएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुश्वाहाले जानकारी दिए ।

साथै मकवानपुरका थाहा नगर र भिमफेदी गाउँपालिकामा दुई सवारी साधनमा आगजनी समेत भएको छ ।

कैलालीका विभिन्न स्थानमा पनि शंकास्पद वस्तु भेटिएको छ ।

गोदावरी नगरपालिकाको अत्तरिया बजार, वौनिया, लम्की र राजीपुरमा शंकास्पद वस्तु बम भेटिएको प्रहरीले जनाएको छ । बम भेटिएको खबर पाएलगत्तै सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको प्रहरीले जनाएको छ ।

बाँकेको कोहलपुर, मोरङको बेलगाछी, अर्घाखाँचीको सन्धिखर्कमा पनि शंकास्पद वस्तु भेटिएको छ ।

यसैगरी बझाङको सदरमुकाम चैनपुरमा पनि बम विस्फोट भएको छ । बम विस्फोटबाट भएको क्षतिबारे अहिलेसम्म कुनै जानकारी आएको छैन । 

त्यस्तै पोखराको जिरो किमीमा टेपले बेरिएर राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । 

यसैबीच तराई–मधेशको सर्लाहीमा पनि शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

सर्लाहीको विभिन्न ठाउँमा बम फेला भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । सर्लाहीको लालबन्दीको फुलन्जर पुलमा शंकास्पद वस्तु फेला परेको हो । 

विप्लवको नेपाल बन्दले देशभर जनजिवन प्रभावित भइरहेको बेला काठमाडौं उपत्यकामा भने खासै प्रभाव परेको छैन । सवारी साधनहरु निर्वाध चलिरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?