काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोटबाट संस्थापनले एकलौटी निर्णय गरेको भन्दै दुई नेताले फरक मत राखेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय विपरीत उम्मेदवार चयन गर्ने काम भएको भन्दै नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले ५ फरक मत राखेका हुन् ।
विज्ञप्ति जारी गर्र्दै केसीद्वयले भनेका छन्, ‘राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेद्वार तय गर्नेबारे पौष १४, २०८० को कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय, ‘‘प्रदेश कार्यसमितिको सिफारिस भई आएका नामहरूमध्ये भौगोलिक तथा जातीय सन्तुलन समेतलाई ध्यान दिई पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुर्याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध, स्वच्छ छवि भएका, हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट बञ्चित भएका, योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने…’’ भन्ने व्यवस्थालाई ठाडो उल्लङ्घन र पार्टीको संस्थागत निर्णयप्रति अविश्वनीयता खडा गरेको छ।’
नेताद्वयले उम्मेदवार चयनमा देखिएको एकाधिपत्य र चरम एकपक्षीय कार्यशैली पार्टी र आम भावना विपरीत भएकाले संसदीय बोर्डले गरेको निर्णयमा आफूहरु सहमत हुन नसकेको भन्दै पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
संसदीय बोर्डले विधानअनुसार आजसम्म पूर्णता पाउन नसकेको, समग्र मधेश प्रदेशबाट मधेसी समुदायबाट प्रतिनिधित्व हुन नसकेको, विज्ञ, बौद्धिक, व्यावसायिक र पेशागत वर्गलाई पूर्ण रुपमा उपेक्षा गरिएको , समावेशिताको संवैधानिक सिद्धान्तलाई उल्ङ्घन गरिएको, एकपक्षीय कार्यशैली अपनाइएको पनि फरक मतमा उल्लेख छ ।
त्यसो त केन्द्रीय समितिको बैठकको निर्णय अनुसार राष्ट्रिय सभा निर्वाचनका सदस्यका लागि उम्मेदवारहरुको चयन हुन नसकेको भन्दै नेतृत्वको आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया