परराष्ट्रमन्त्री ज्ञवालीलाई राष्ट्रसंघको १० पन्ने लामो पत्र (पत्रसहित)

काठमाडौं । संयुक्त राष्ट्रसंघले परराष्ट्रमन्त्रालयलाई १० पन्ने पत्र पठाएको छ ।

द्वन्द्वकालीन मुद्दाहरु टुंग्याउन ढिलाइ गरेको भन्दै संयुक्त राष्ट्रसंघले परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै दुःख व्यक्त गरेको छ । 

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको आयोगले गर्ने काम निष्पक्ष, स्वतन्त्र र पारदर्शी हुन सक्नेमा समेत राष्ट्रसंघले शङ्का व्यक्त गरेको छ ।

राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालयको संयोजकत्वमा जबरजस्ती बेपत्तासम्बन्धी कार्य समूह तथा विविध विषयका चार विशेष दूतले जेनेभास्थित नेपालको राष्ट्रसङ्घीय स्थायी नियोगमार्फत् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई १० पेज लामो पत्र लेखेको हो । 

पत्रमा लेखिएको छ, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको आयोगका पदाधिकारीको नियुक्तिका लागि अपनाइने विद्यमान प्रक्रियामा निष्पक्षता, स्वतन्त्रता र पारदर्शिताको अभाव, दुबै आयोगले प्रगति गर्न नसकेको जानकारी तथा यस सम्बन्धी विधेयकको सम्भाव्य संशोधनबारे हाम्रो ध्यानाकर्षण भएको छ ।” 

‘आफ्नो काममा प्रगति गर्न नसकेकामा तथा स्वतन्त्रता र विश्वसनीयता कायम गर्न नसकेकामा आयोगहरूको व्यापक आलोचना भएको छ’ सो पत्रमा लेखिएको छ ।

 राष्ट्रसंघले उक्त पत्र चैत २९ गते शुक्रवार पठाइएको थियो । सो पत्रको जवाफ यथाशीघ्र फर्काउन सरकारलाई भनिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?