काठमाडौं । लामो छलफलपछि सत्तारुढ गठबन्धनले राष्ट्रिय सभा सदस्यको सिटको भागबण्डा टुंग्याएको छ ।
जसअनुसार गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले १ सिट पाएको हो । यता एकीकृत समाजवादीले भने थप एक सिट आफूहरुलाई चाहिने दाबी गर्दै आइरहेको छ ।
दलीय सहमति अनुसार प्रदेशबाट समेत उम्मेदवार टुंग्याइएको छ । जसअनुसार कांग्रेसले कोशी प्रदेशमा १, मधेसमा १, बागमतीमा २, गण्डकीमा २ र सुदूरपश्चिममा २ सिट पाउने भएको छ । यस्तै कर्णाली र लुम्बिनीमा कांग्रेसले थप १–१ सिट पाउने सहमति भएको छ ।
यसैगरी माओवादी केन्द्रले कोशीमा १, बागमतीमा १, गण्डकीमा १, लुम्बिनीमा १, कर्णालीमा १ र सुदूरपश्चिममा १ सिट पाउने सहमति भएको छ ।
यस्तै एकीकृत समाजवादी बागमती र कर्णालीमा १–१ सिट पाएको छ । यस्तै जसपाले एक सिटमा मधेसबाट उम्मेदवार खडा गर्ने बताएको छ ।
आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले सबै भागबण्डा टुंग्याए पनि पार्टीको आन्तरिक बैठक बसेर त्यसलाई अन्तिम रुप दिइने बताइएको छ । त्यससँग कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् भने माओवादी केन्द्रले समेत त्यसबारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ ।
आगामी माघ ११ हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोलि अर्थात् पुस २३ गते मनोनयनको मिति तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया