भारतको ‘छिमेकी पहिले नीति’बाट नेपालले लाभ लिनुपर्छ : राजकिशोर यादव

लोकपथ
28
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद राजकिशोर यादवले भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणमा भएका चार बुँदे सम्झौता स्वागतयोग्य रहेको भन्दै प्रशंसा गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित विशेष–साक्षात्कारमा उनले नेपालले भारतको ‘छिमेकी पहिले नीति’ बाट लाभ लिनुपर्ने सुझाव दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको यसअघि भएको भारत भ्रमणको क्रममा भएका दुई देशबीचका सम्झौतालाई अहिले जयशंकरको नेपाल भ्रमणको क्रममा मूर्त रूप दिने काम भएको उनको भनाइ छ ।

यादवले भारतीय विदेशमन्त्री नेपाल आएर यसअघि भएका सम्झौतालाई मूर्त रुप दिएकाले नेपालले लाभ लिन सक्नुपर्ने सुनाए । उनले भने, ‘भारतको छिमेकी पहिले भन्ने नीति छ । त्यो नीतिबाट नेपालले पनि आफ्नो हितमा फाइदा लिन सक्नुपर्छ । सबै जिम्मेवार दल र नेतृत्व लाग्नुपर्छ । अहिलेको हाम्रो चुरो कुरा भनेको देशमा आर्थिक समृद्धि र युवाहरुलाई रोजगारी सिर्जना गर्नुपर्छ ।’

उनले आर्थिक रूपमा समृद्धि हासिल गर्न नसकिए देशभित्र ठूलो चुनौती सामना गर्नुपर्ने अवस्था रहेको पनि सुनाए ।

उनले भने, ‘अब हामीले हाम्रो आन्तरिक उत्पादनलाई बढाउनुपर्छ । छिमेकीसँग विश्वासको आधारमा सम्बन्ध बनाएर मुलुकको राष्ट्रिय हितलाई सम्बर्धन र प्रवद्र्धन गर्दै जानुपर्छ ।’

देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था एकदमै चिन्ताजनक र संकटोन्मुख रहेको टिप्पणी उनले गरे ।

अहिले देश संकटग्रस्त अवस्थामा पुग्नुमा सबै दल र खासगरी राज्य सञ्चालनमा रहेकाहरु नै जिम्मेवार रहेको उनको आरोप छ ।

नेपालका दलहरू आन्तरिक रूपमा राजनीतिक रूमा विभाजित हुँदा आर्थिक मुद्दा ओझेलमा परेको उनको टिप्पणी थियो ।

उनले भने,‘राष्ट्रिय हितका कुरा बिर्सियौं । एक अर्कामा आरोप लगाउने काम भयो । ०७२ मा संविधान जारी भयो, आज ८ वर्ष भइसकेको छ । संविधानमा भएका प्रावधानहरुलाई कानुन र ऐन बनाएर संस्थागत गर्नुपर्ने थियो, त्यो काम पनि भएको छैन । व्यापार घाटा धेरै छ । यो मुलुक आयातको मात्र केन्द्रविन्दु भएको छ । यसले हामी दिनप्रदिदिन कमजोर भएका छौं ।’

बहुदलीय व्यवस्थामा जहिलेपनि सरकार असफल भयो भने वेटिङ गभर्मेन्ट पनि छ है भनेर प्रमुख प्रतिपक्षी दललाई हेरिने गरिएको भए पनि अहिले प्रमुख प्रतिपक्षी दल पनि नदेखिएको उनको टिप्पणी थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?