रामेछाप नगरपालिकाको विकास खर्च सात प्रतिशत मात्र

लोकपथ
63
Shares

रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक वर्षको ६ महिनामा विकास खर्चको जम्मा सात प्रतिशत मात्र रकम खर्च गरेको छ । नगरपालिकाले १४औँ हिउँदे नगर सभापछि आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता समीर कार्कीले सो कुराको जानकारी दिएका हुन् । नगरपालिकाको चालुतर्फ झण्डै २८ प्रतिशत बजेट खर्च भइसक्दा पनि विकास बजेट भने न्यून मात्र खर्च भएको छ ।

रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा चालुतर्फ ५० करोड ८१ लाख ५३ हजार ९ सय ४५ रुपैंयाँ विनियोजन गरेको थियो । त्यस्तै पुँजीगत अर्थात् विकास खर्चतर्फ २५ करोड ५ लाख ५३ हजार ६ सय ९६ रुपैंयाँ विनियोजन गरेको थियो ।

हालसम्म चालुतर्फ १४ करोड ३ लाख ६७ हजार ८ सय ९९ अर्थात २७ दशमलव ६२ प्रतिशत रकम खर्च भएको छ । पूँजीगततर्फ १ करोड ७१ लाख १ हजार ६ सय ९१ अर्थात् ७ दशमलव १४ प्रतिशत मात्र खर्च भएको छ । चालु र पूँजीगत गर्दा हालसम्म २० दशमलव ८६ प्रतिशत वित्तीय प्रगति हासिल गरेको कार्कीले जानकारी दिए ।

सभाले पालिकाको विनियोजन ऐन २०८० लाई संशोधन गर्ने सम्बन्धमा बनेको विधेयक २०८० को मस्यौदालाई पारित गरेको छ । सभाले संघ, प्रदेश सरकार तथा अन्य निकायबाट बजेट विनियोजन भई अधुरा रहेका नगर गौरवका आयोजना कार्यन्वयन गर्न नगरपालिकाको नियमित बजेटबाट सम्भव नहुने भएकोले अधुरा आयोजनालाई पूरा गर्न क्रमागत योजनाको रुपमा समावेश गरी नियमित रुपमा बजेट कार्यक्रममा समावेश गरिदिन संघीय सरकार तथा वाग्मती प्रदेश सरकार लगायतका निकायमा सिफारिस गरी पठाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?