काठमाडौं । त्रिभुवन विश्वविद्यालयको बेथिती अन्त्यका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) सिन्धुलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पत्र पठाएको छ ।
देशकै जेठो विश्वविद्यालय त्रिविमा चरम दलीय भागबण्डाका कारण बढिरहेको समस्या समाधानका लागि नेविसंघले प्रमुख जिल्ला अधिकारी भरत खनालमार्फत प्रधानमन्त्रीलाई पत्र पठाइएको हो ।
त्रिविको उपकुलपति दलीय भागबण्डाका आधारमा नियुक्त हुने हुँदा समस्या यत्रतत्र रहेको बताउँदै योग्यता र क्षमताको आधारमा उपकुलपति नियुक्त गर्न माग गरिएको छ ।
‘यस पटक त्रिभुवन विश्वविद्यालयको उपकुलपति स्वतन्त्र छनोट मार्फत् योग्यता दक्षता र अनुभवमा आधारित खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न सरकारलाई जोडदार माग गर्दछौँ ।’ पत्रमा भनिएको छ ।
आगामी वर्षहरुमा विश्वविद्यालयको उपकुलपति र सहउपकुलपति राजनीतिक व्यक्तित्व हुने कानुनी व्यवस्था नै बदल्न सुझाव समेत दिइएको छ ।
आफूहरुको उक्त अभियान विश्वविद्यालयमा हुने गरेको दलीयकरण अन्त्यका लागि रहेको विद्यार्थी नेता मुकेश घिमिरेले जानकारी दिए । दलीय भागबण्डाबाट विश्वविद्यालयलाई मुक्त राख्न नसके त्यहाँबाट उत्पादन भएको जनशक्ति विश्व बजारका लागि असक्षम हुने बताए ।
‘यो अभियान दलीयकरणले ध्वस्त उन्मुख विश्वविद्यालय सुधार्न हो । हामी त्रिभुवन विश्वविद्यालयको खस्किँदो अवस्थाबाट प्रताडित शैक्षिक जनशक्ति हौं, यसको अब पनि रुपान्तरण भएन भने यसबाट उत्पादन भएका कुनैपनि विद्यार्थी विश्व बजारमा असक्षम हुने निश्चित छ ।’ घिमिरेले भने ।
त्यस्तै आफूहरुले जिल्लाभर र देशभर आफूले पढेको विश्वविद्यालय सुधारका लागि गरेको प्रयास सार्थक हुने विश्वास रहेको सिधुली बहुमुखी क्याम्पस स्ववियु सदस्य स्वस्तिका बखरेलले बताइन् ।
‘हामी जिल्लाभरका क्याम्पसमा अध्यनरत विद्यार्थीले आफूले पढेको विश्वविद्यालय सुधार्न गरेको पहल हो । हाम्रो यो अभियानले देशको जेठो र ठूलो विश्वविधालयको साख फर्कने कुरामा विश्वस्त छौं।’ उनले भनिन् ।
त्यसो त पछिल्लो समय नेविसंघको अगुवाइमा त्रिविको उपकुलपतिसहित पदाधिकारीको नियुक्ती दलीय भागबण्डामा नभइ प्रतिस्पर्धाको आधारमा गर्नुपर्ने मागसहित आवाज उठाइरहेको छ । मंगलबार नेविसंघले काठमाडौंमा त्रिवि सुधारको लागि सडक बहस गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया