काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) भन्छ, ‘बालबालिका जन्मेको कम्तीमा २ वर्षसम्म आमाको दुध खुवाउनुपर्छ । रोग प्रतिरोधात्मक क्षमता विकासको लागि पनि आमाको दुध उत्तिकै महत्वपूर्ण हुन्छ ।’
त्यसैले कम्तीमा ६ महिनासम्म आमाको दुध मात्रै खुवाउन विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ । विश्वमा कुल ४८ प्रतिशत आमाहरुले नवजात शिशुलाई स्तनपान गराउँदा नेपालमा भने त्यसमा केही बढी प्रतिशतले स्तनपान गराएको पाइन्छ । सन् २०२२ को नेपालको तथ्याङ्क हेर्ने हो भने नेपालमा ५६ प्रतिशतले पूर्ण स्तनपान गराउने गरेको तथ्यांक रहेको छ ।
नेपालमा प्रदेशगत संरचनामा त्यसको तथ्यांक हेर्ने हो भनेचाहिँ कर्णाली र सुदूरपश्चिम प्रदेशका ७४ प्रतिशतले पूर्णस्तनपान गराउँदा लुम्बिनी प्रदेशका भने ३६ प्रतिशत आमाहरुले मात्रै पूर्ण स्तनपान गरााएको पाइएको छ ।
गत शुक्रबार स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाले एक कार्यक्रममा नेपालको स्तनपानको अवस्थाबारे जानकारी दिँदै सो तथ्याङक उपलब्ध गराएको हो ।
पोषण शाखाले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा जन्मिएका २२ प्रतिशत शिशुहरुले आमाको दुध खान पाउँदैनन् । विविध कारणले आमाको दुध खान नपाउने २२ प्रतिशत शिशुमध्ये त्यसको ४३ प्रतिशत शिशु भने बागमती प्रदेशका रहेका छन् ।
सन् २०२२ मा नेपालमा कुल ६ लाख २८ हजार ४ सय ३३ बालबालिका जन्मिएका मध्ये त्यसको २२ प्रतिशत अर्थात् १ लाख ३८ हजार २ सय ५५ बालबालिकाले बोतलबाट दुध खाने गरेको पाइएको हो । जसमध्ये ४३ प्रतिशत अर्थात् ५९ हजार ४ सय ४९ बालबालिका बागमती प्रदेशको रहेको विभागको तथ्यांकमा उल्लेख छ । बोतलको दुध खुवाउनेमध्ये सबैभन्दा कम भने कर्णाली प्रदेशमा ११ प्रतिशत अर्थात १५ हजार २ सय ८ जना रहेका छन् ।
बागमती प्रदेशमा आमाको दुध नखुवाई बोतलको दुध खुवाउने आमाहरुको संख्या बढी हुनुमा शहरी जीवनशैली, चाँडै
बुढ्यौलीमा प्रवेश गर्ने भय, साैन्दर्यमा आँच आउने त्रासका कारण आमाहरुले स्तनपान नगराई बोतलको दुध खुवाउने गरेको विभागको दाबी छ । त्यसबाहेक शहरी क्षेत्रमा रोजगारी लगायतका ब्यस्त जीवनशैली पनि रहेको विभागको भनाइ छ ।
स्तनपानमा शिक्षित महिलाकै अनिच्छा शैक्षिक स्तरको आधारमा स्तनपान गराउने र नगराउने महिलाको तथ्यांक हेर्ने हो भने अशिक्षित, अर्धशिक्षित भन्दा शिक्षित महिलाहरुले स्तनपान नगराउने पाइएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को जनगणना अनुसार माध्यामिक तह पार गरेकाहरु भन्दा सो भन्दा बढी शिक्षा लिएका महिलाहरु पछाडि रहेको पाइएको हो । त्यस्तै स्तनपान गराउनेमा गरिब महिलाहरु अगाडि छन् भने धनी महिलाहरुको संख्या कम रहेको पाइएको छ । कम आय भएका ६४ प्रतिशत आमाले पूर्ण स्तनपान गराउँदा धनी रहेका ४४ प्रतिशत आमाले मात्रै पूर्ण स्तनपान गराएको पाइएको छ ।
पूर्ण स्तनपान नगराउँदा कुपोषणको जोखिम
स्तनपानले रोगसँग लड्ने प्रतिरोधी क्षमतामा वृद्धि गर्ने भएपनि नेपालमा पनि पूर्ण स्तनपानको नगराउने समस्या बढेको छ । पूर्ण स्तनपान नहुँदा बालबालिकामा पुड्कोपन, ख्याउटेपन, कम तौल, रक्तअल्पता आदि कम तौल देखिएका छन् । नेपालमा ५ वर्ष मुनिका २५ प्रतिशत बालबालिकामा पुड्कोपन, ८ प्रतिशतमा ख्याउटेपन, १९ प्रतिशतमा कम तौल, ४३ प्रतिशतमा रक्तअल्पता जस्ता समस्या देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया