युवाको मनोदशालाई समेट्दै साहित्यकार मञ्जुश्री प्रधान

काठमाडौं । डा.मञ्जुश्री प्रधान आफै युवा होइनन् तर, युवाको मनोभावनालाई समेटेर साहित्य सिर्जना गर्छिन् । उनका कविता, कथाहरुमा प्रेमलाई मूख्य विषयवस्तु बनाइएको हुन्छ । अनि त्यही प्रेम सम्बन्धको वरिपर घुम्छन् पात्रहरु । 

ठूलो उमेरको महिला र सानो उमेरको ठिटाबीचको प्रेम, एकदिने रेलयात्रामा गाँसिएको सम्बन्ध, जातीय विभेदमा फक्रिएको माया यस्तैयस्तै कथावस्तुमा केन्द्रित छन् उनका कथा । तर, विषयवस्तु मोडर्न भएपनि भाषालाई सकेसम्म स्तरीय राख्ने कोसिस गरेको उनले बताइन् । ‘विषयवस्तु युवावर्गले मनपराउने किसिमको भएपनि भाषा स्तरीय भएकाले दिग्गज लेखकहरुले पनि मनपराइदिनुभएको छ’, उनले भनिन् ।

अहिलेसम्म उनका कथा तथा कविता संग्रह गरेर ३ वटा किताब प्रकाशित भइसकेका छन् । शैली, कल्पनाको महल र पर्खालभित्रको प्रेम । जसमध्ये ‘पर्खालभित्रको प्रेम’ले निकै राम्रो प्रतिक्रिया पाएको उनी बताउँछिन् ।

सामान्य पाठकले मात्र नभएर राष्ट्रिकवि माधवप्रसाद घिमिरेले समेत यस पुस्तकलाई राम्रो प्रतिक्रिया दिएकाले दङ्ग पर्दै त्यो क्षण सम्झिन्छिन्, ‘पुस्तक लिएर म राष्ट्रियकवि माधवप्रसाद घिमिरेलाई भेट्न पुगेकी थिएँ,’ उमङ्गित हुँदै उनले थपिन्, ‘उहाँले एक बसाइमा सबै किताब पढ्नुभयो र भन्नुभयो, मञ्जु सधैं यस्तै खालका कथा मात्रै लेख्नु है !’माधवप्रसाद घिमिरेको यस्तो सकारात्मक प्रतिक्रियाले आफूलाई थप यस्तै ‘जनरा’मा कलम चलाउने प्रेरणा दिएको उनी सुनाउँछिन् । 

डा.प्रधान मनोरोगीहरुकी विशेष प्रशिक्षक पनि हुन् । उनले आफ्नो ३ दशकभन्दा बढी समय मनोरोगी, सुस्त मनस्थिति भएकाहरुको सामीप्यमा बिताएकी छिन् । आफ्नै नेतृत्वमा उनले राजधानी र अन्य ठाउँमा मनोरोगीहरुका निमित्त पुनस्र्थापना केन्द्र समेत स्थापना गरेकी छिन् । 

जीवनको उर्जाशील समय मनोरोगी तथा सुस्त मनस्थिति भएकाहरुको परामर्शमा खर्चिएकाले पनि होला उनले हरेक उमेर समूहका व्यक्तिहरुको मनोभावना राम्रोसँग बुझेकी छिन् । 
यही दौरान आफूले देखेको, सुनेको, भोगेको अनुभवलाई नै आफ्ना साहित्यमा प्रयोग गर्ने उनले बताइन् । 

यतिका वर्ष उनको दिन मनोरोगीहरुको स्याहारसुसार र परामर्शमै बित्यो । यो उनको पहिलो काम थियो भने साहित्य ‘पार्ट टाइम’ । तर, अबको समय मञ्जुश्रीले ‘साहित्य’लाई नै दिने योजना बनाएकी छिन् ।  

‘सामाजिक क्षेत्रमा पनि सक्रिय नै रहन्छु’, उनी भन्छिन्, ‘तर, साहित्यलाई आफ्नो प्राथमिकतामा राख्छु’ ।  

यसैको परिणाम होला उनले नेपालीमा मात्र होइन हिन्दी भाषामा पनि साहित्य रचना गर्न शुरु गरेको ।  हिन्दी साहित्यतर्फ रुचि बढेकाले केही समयदेखि आफूले हिन्दीमै कविता लेख्न सिक्दै गरेको उनले बताइन् । ‘लेख्न थालेको धेरै भएको छैन’, उनले थपिन्,‘अहिले त म सिक्ने क्रममा छु’।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?