काठमाडौं । हिमालय एअरलाइन्सले काठमाडौं–ल्हासा–काठमाडौं उडान सेवा सुरु गरेको छ ।
एअरलाइन्सले हरेक सोमबार यी दुई सहरहरूका बीचमा उडान सेवा सञ्चालन गर्ने जनाएको छ ।
एअरलाइन्सले यो सेवा बिस्तारलाई नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ ।
नयाँ काठमाडौं–ल्हासा–काठमाडौं रुटले यात्रुहरूलाई नेपालको जीवन्त राजधानी सहर काठमाडौं र ऐतिहासिक रूपले समृद्ध एवम् रमणीय सहर ल्हासाका बीचमा सहज यात्राको विकल्प प्रदान गर्ने बताईएको छ । कम्पनीको पहिलो आउटबाउन्ड उडान, एच ९ ७७४ गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३६ जना यात्रु लिएर बिहान ८ः४० बजे ल्हासा प्रस्थान गरेको थियो । सो विमान ल्हासा गोङ्गार विमानस्थलमा स्थानीय समय अनुसार बिहानकोे १२ः०० बजे अवतरण गरि १ घण्टा २० मिनेटमा यात्रा पुरा गरेको थियो ।
यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्सको यो पाँचौँ सिधा उडान सेवा हुनेछ । एअरलाइन्स्ले यसअघि नै बेइजिङ, चोङकिङ, छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ । कम्पनीको सेवा उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री,सुदान किराँतीले हिमालय एअरलाइन्स्को काठमाडौं– ल्हासा–काठमाडौं उडानले नेपाल र चीन बीचको यातायात नेटवर्कमा महत्वपूर्ण भुमिका खेल्ने बताएका थिए । यस्तै चिनियाँ दूतावासका उपप्रमुख वाङ जिनले नयाँ सुरु गरिएको यो रुटले नेपाल र चीनलाई जोड्ने यातायात सञ्जालमा महत्वपूर्ण प्रगतिको रूपमा प्रतिनिधित्व गरेको बताए । यस रुटले अरनिको राजमार्गले जोडेको विद्यमान नेपाल–चीन कनेक्टिभिटीलाई अझ व्यापक रूपमा विस्तार गर्ने उल्लेख गरे । यातायात पूर्वाधारमा भएको यो बिस्तारले नेपाल र चीनबीचको व्यापार, पर्यटन र समग्र द्विपक्षीय सम्बन्धका लागि फराकिलो र थप विविध नेटवर्कमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई थियो ।
हिमालय एअरलाइन्सका प्रवक्ता समेत रहेका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले हिमालयको मुख्य उद्देश्य चीनका १० वटा विभिन्न पर्यटकीय गन्तव्यमा उडान सञ्चालन गरी १० लाख पर्यटकलाई नेपालमा स्वागत गर्नु रहेको बताए ।
हिमालयले नेपालबाट चीनका लागि नयाँ–नयाँ रुटहरू पहिल्याउँदै उडान सेवा प्रदान गर्दै आएको छ । यस अर्थमा नयाँ बजार बिस्तार तथा स्थापित गर्न कम्पनीको योगदान उल्लेखनीय रहेको उनको भनाई छ । यस नयाँ रुटको सुरुवातसँगै हिमालयले उच्चतम सुरक्षा मापदण्ड कायम गर्दै अविस्मरणीय यात्रा अनुभवहरू प्रदान गर्ने लक्ष्य लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया