राष्ट्रपति भण्डारी चीन जाँदै, नेपाल–चीन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छिन् । राष्ट्रपति भण्डारी यही वैशाख ११ गते चीन भ्रमणमा जान लागेकी हुन् । 

भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई)को दोस्रो शिखर सम्मेलनमा भाग लिन बेइजिङ जान लागेकी हुन् । सम्मेलन अप्रिल २५ देखि बेइजिङमा हुँदैछ । 

परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली दूतावासले राष्ट्रपति भण्डारीको भ्रमण तयारी तीव्र पारेका छन् । 

वैशाख १२ र १३ गते हुने बीआरआइ फोरममा सहभागितापछि राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । 

यद्यपी राष्ट्रपति भ्रमणको आधिकारिक कार्यक्रम भने सार्वजनिक गरिएको छैन ।

दुई राष्ट्रपतिको भेटमा तीन वर्षअघि भएको नेपाल–चीन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावलीले जानकारी दिए । 

चीनले एसिया, अफ्रिका र युरोपलाई जल र जमिनबाट जोड्ने लक्ष्यसाथ ल्याएको बिआरआईमा नेपालले हस्ताक्षर गरिसकेको छ ।

उता केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ चैतमा भएको सम्झौता कार्यान्वयनपछि चीनका सामुद्रिक र सुख्खा बन्दरगाहसम्मको पहुँचले नेपालको विश्वबजारसँग जोडिने बाटो फराकिलो हुने ठानिएको थियो । तर सम्झौतापछि नेपालले सक्रिय पहलकदमी नलिँदा अहिलेसम्म यो विषय टुंगोमा पुग्न सकेको छैन । 

साथै चिनियाँ राष्ट्रपतिलाई राष्ट्रपति भण्डारीले नेपाल भ्रमणको निम्तो दिने तयारी छ । 

राष्ट्रपति भण्डारी बेइजिङ भ्रमण सकेर चीनको स्वशासित क्षेत्र तिब्बत जाने कार्यक्रम रहेको छ भने उनी तिब्बत भ्रमण सकेर वैशाख १९ गते स्वदेश फर्किने कार्यक्रम छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?