छुटे सिके राउतसहित पक्राउ परेका नेता तथा कार्यकर्ता 

लोकपथ
91
Shares

काठमाडौं । ‘धोती दिवस’ मनाउन भन्दै निषेधित क्षेत्र माइतीघरतिर अगाडि बढिरहेका बेला पक्राउ परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतलाई प्रहरीले चार घण्टापछि छाडेको छ । उनीहरुलाई गृहमन्त्री आफैं भृकुटीमण्डप पुगेर रिहा गराका हुन् ।

सोमबार दिउँसो गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं नेपाल प्रहरी क्लब भृकुटीमण्डप पुगेर उनीहरुलाई छुटाएका हुन् ।गृहमन्त्री श्रेष्ठले आफूहरुबाट भएको कमीकमजोरी स्वीकार्दै आफ्नै उपस्थितिमा सबै आन्दोलनकारीलाई रिहाई गराएको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए ।

अंग्रेजी महिनाको जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै जनमत पार्टीका नेता–कार्यकर्ताहरु आज बिहान ‘धोती दिवस’ लेखिएको ब्यानरसहित नारा लगाउँदै प्रहरीको घेरा तोडेर माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको हो ।

निषेधित क्षेत्रमा भेला हुन खोजेपछि प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो । सो क्रममा प्रहरीसँग उनीहरुको धकेलाधकेल भएको थियो ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समेत माइतीघरलाई निषेधित क्षेत्र तत्काल हटाइनुपर्ने आवाज सांसदले उठाएका थिए । त्यसपछि गृहमन्त्री आफैं पुगेर पक्राउ परेकालाई रिहा गराएका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?