मिडियाको आकर्षणमा करिना कपुरको छोरा तैमूर

एजेन्सी । बलिउड अभिनेता सैफ अलि खान र अभिनेत्री करिना कपुरको छोरा तैमूर जन्मेदेखिनै मिडियाको आकर्षण बन्दै आएका छन् । 

मुम्बईको बान्द्रामा रहेको सैफको घरबाहिर तैमूरको फोटो लिनको लािग भनेर पापाराज्जीहरु (सेलेब्रिटीहरुलाई पछ्याएर फोटो खिच्ने स्वतन्त्र फोटोग्राफर) ढुकी बसेका हुन्छन् ।

तर यसबाट उनका पिता सैफ खुसी नरहेको देखिएको छ । हालै मुम्बई एयरपोर्टमा श्रीमती र छोरासँगै देखिएका सैफ अलि खान छोरा तैमूरको फोटो खिचिरहेका पापाराजीहरुमाथि खनिए । 

सैफ, करिना र तैमूर छुट्टी मनाउन पटौदी गएका थिए । उनलाई एयरपोर्टमा सेलिब्रेटीहरुको फोटो खिच्न कुरेर बस्ने फोटो पत्रकारहरुले पछ्याइ हाले । 

सेलेब्रिटिलाई पछ्याउने फोटोग्राफरहरुको क्यामराबाट ठूलो फ्ल्यास निस्कन्छन् । वयस्क कलाकारहरु समेत यी फ्ल्यासले प्रभावित हुने गर्छन् । उनीहरु यसको असर कम गर्नको लागि कालो चस्मा लगाउनेदेखि फ्ल्यासलाई छल्ने अन्य उपायहरु गर्छन् । 

यसबाट जानकार सैफ अलि खानले आफ्नो २ वर्षे छोराको भलाईको लागि फोटोग्राफरतर्फ फर्किदैं जंगिएर भने, ‘भयो , अति नगर्नुस् , बच्चा दृष्टिबिहीन हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?