‘तमु ल्होसार’ जस्ता पर्वको विविधतामा एकता कायम गर्न महत्वपूर्ण भूमिका  : अध्यक्ष तिमिल्सिना

लोकपथ
21
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले ‘तमु ल्होसार’ जस्ता पर्वहरु राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै यस्ता पर्वले विविधतामा एकता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

आज गुरुङ समुदायको नयाँ वर्ष एवं महान् पर्व ‘तमु ल्होसार–२०८०’ को अवसरमा शुभकामना दिँदै अध्यक्ष तिमिल्सिनाले पर्वले सामाजिक सद्‍भाव अभिवृद्धि गर्नमा योगदान पु-याएको बताएका हुन् । यस्ता पर्वले नेपालभित्र र नेपालबाहिर समेत नेपालीको मौलिक पहिचान तथा संस्कृतिको संरक्षण गर्दै राष्ट्रिय एकता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको अध्यक्ष तिमिल्सिनाको बुझाई छ ।

उनले भनेका छन्, ‘यी र यस्ता अन्य पर्वहरुले नेपालको विविधतामा एकता कायम गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। यस्ता अमूल्य निधिहरुलाई नेपालको आर्थिक–सामाजिक रुपान्तरणमा उपयोग गर्नु आजको आवश्यकता हो। मुलुकभित्र रहेका यस्ता विविधता हाम्रो विकास र समृद्धिका लागि अवसर पनि हुन्। तसर्थ, मौलिक चाडपर्व र परम्पराको संरक्षण गर्नु हाम्रो कर्तव्य हो।’

‘तमु ल्होसार–२०८०’ को अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतले पनि शुभकामना दिएका छन् ।

कांग्रेस सभापति देउवाले शुभकामना सन्देश जारी गर्दै ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गरेको तथा समाजमा सद्भावना बढाउदै आएको बताएका छन । यस्तै,एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालबाट ल्होसारको सबैलाई शुभकामना दिएका छन् ।

गुरुङ समुदायले पूरानो वर्षलाई विदा गर्दै नयाँ वर्षको रूपमा विभिन्न कार्यक्रम गरी तमु ल्होसार मनाउने गर्दछन्। पर्वको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?