राम्रो काम गर्न नसके प्रचण्डलाई बालुवाटारबाट खुमलटार पुर्‍याउछौँ : गगन थापा

लोकपथ
308
Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले, प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्‍याउने चेतावनी दिएका छन् ।

शनिवार भक्तपुरमा आयोजित क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले, दाहाललाई कांग्रेसले प्रधानमन्त्री बनाएको भन्दै राम्रो काम गर्न नसके खुमलटारबाट बालुवाटार फर्काउने चेतावनी दिएका हुन् ।

खुमलटारबाट बालुवाटार ल्याउने हैसियत काँग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि काँग्रेसले राख्ने उनको तर्क छ ।

उनले भने,‘ प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने खुमलटारबाट बालुवाटार ल्याउने हैसियत काँग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि काँग्रेसले राख्छ । ’

उनले नेपाली कांग्रेसको अस्तित्वलाई नजरअन्दाज गरियो भने देश गृहयुद्धमा फस्ने चेतवानी दिए ।

‘अहिले नेपाली काँग्रेस पार्टी छैन भन्ने कल्पना गर्नुभयो भने नेपाल कुनै न कुनै गृहयुद्धमा पर्छपर्छ । कि त धार्मिक, कि जातिय, कुनै न कुनै अतिवादमा नेपाल गाँजिन्छ पर्छ ।’ उनले भने ‘काँग्रेसले सरकार चलाउने कुरामा योग्यता राख्न सकिरहेको छैन मान्नु पर्छ हामीले । अब अहिले फेरि हामीले जिम्मा पाएका छौँ । कसैलाई दोष दिन मिल्दैन् । यो बेला हामीले काम गर्नुपर्छ ।’

उनले आजको सबैभन्दा ठूलो नेपालको मुद्दा रोजगारी रहेको भन्दै बालकुमारीमा घटेको घटना प्रति दुःख व्यक्त गरे ।

उनले भने, ‘आजको समस्याको चर्चा जुन भयो, त्यसको सम्बोधन कसले गर्ने त ? आजको सबैभन्दा ठूलो नेपालको मुद्दा रोजगारीको हो । बालकुमारीमा जुन घटना भयो त्यो दुःखद् घटना हो दुई जवानहरु हामीले गुमायौँ सानो नोक्सान हो त्यो ? ।’

उनले राष्ट्रिय सभा सदस्य मनोनयन गर्न लामो छलफल गरेपनि पार्टी सभापतिको गोजीबाट नै अन्तिममा नाम टुंगो लाग्ने परिपाटी अन्त्य गर्नुपर्ने तर्क राखे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?