भूकम्पपीडितका लागि कांग्रेसले बनायो ९३८ अस्थायी आवास

लोकपथ
0
Shares

काठमाडौं । जाजरकोट भूकम्पबाट पीडितहरूका लागि नेपाली कांग्रेसले ९३८ वटा अस्थायी आवास निर्माण गरेको छ ।

महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा संयोजकत्वको भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा सहजीकरण समितिले बिहीबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा हालसम्म जाजरकोट र रुकुमपश्चिममा ९३८ वटा अस्थायी आवास निर्माण भइसकेको जानकारी गराएको हो ।

बैठकमा समितिका तर्फबाट सहमहामन्त्री जीवन परियारले अस्थायी आवास निर्माणको प्रगतिका विषयमा जानकारी गराएका थिए ।

समितिका तर्फबाट महामन्त्रीद्धय थापा र शर्माले जाजरकोट र रुकुमपश्चिमको स्थलगत अवलोकन गरेपछि पार्टीका तर्फबाट एक हजार अस्थायी आवास निर्माण गर्ने घोषणा गरेका थिए भने अस्थायी आवास निर्माणका लागि सरकारलाई तत्काल अनुदानको व्यवस्था गर्न सुझाव दिएका थिए ।

त्यसपछि सरकारले भूकम्पप्रभावितका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले अस्थायी आवास बनाउन अनुदान दिने व्यवस्था ग-यो । तर अहिलेसम्म पनि भूकम्पपीडितहरूले त्यस्तो अनुदान रकम पाउन सकिरहेका छैनन् ।

‘पार्टीका केन्द्र, प्रदेश र जिल्लाका नेता, भ्रातृ संस्था तथा स्वयम्सेवकहरू परिचालन गरेर अहिलेसम्म ९३८ वटा अस्थायी आवास बनाइएको छ, यीमध्ये कतिपय सम्पूर्णरुपमा हामीले संयोजन गरेर, लगानी जुटाएर गरिएको छ भने कतिपय ठाउँमा पीडितहरूकै खर्चमा जनशक्ति सहयोग गरेर बनाइएको छ,’ बैठकमा सहमहामन्त्री परियारले भनेका थिए ।

बैठकमा गराइएको जानकारी अनुसार कांग्रेसले जाजरकोटमा ४९० र रुकुमपश्चिममा ४४८ वटा अस्थायी आवास बनाएको छ । अहिले पनि अस्थायी आवास निर्माणको क्रम चलिरहेका बेला पूर्वघोषणाबमोजिम एक हजार अस्थायी आवास निर्माणको लक्ष्य छिट्टै पूरा हुने नेताहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?