टीओडी मिटरको रेकर्ड प्राधिकरणसँग नरहेको स्वीकार, आफूविरुद्ध प्रश्न उठ्ने भएपछि पत्रकार सम्मेलन स्थगित

लोकपथ
2.8k
Shares

नेपाल विद्युत् प्राधिकरणसँग टाइम अफ डे (टिओडी) मिटरको कुनै पनि रेकर्ड नरहेको पुष्टि भएको छ। डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा आधिकारिक निकायलाई टाइम अफ डेट (टीओडी) मिटरको तथ्यांक उपलब्ध गराउने भनेर सार्वजनिक अभिव्यक्ति दिएको नेपाल विद्युत् प्राधिकरणले अदालतलाई भने त्यस्तो तथ्यांक मेटिइसकेको पत्र पठाएको छ ।

बक्यौता तिर्न बाँकी रहेको शिवम् सिमेन्टले प्राधिकरणको विरुद्ध मकवानपुर जिल्ला अदालतमा मुद्दा हालेको थियो । अदालतले शिवम् सिमेन्ट्सको मुद्दामा ३० साउन २०८० मा नेपाल विद्युत् प्राधिकरणसँग टीओडी मिटरको तथ्यांक माग गर्ने आदेश दिएको थियो । तर, प्राधिकरणले टीओडीको तथ्यांक नभएको भन्दै अदालतलाई जवाफ पठाएको हो ।

त्यस्तै, सुनसरी जिल्ला अदालतले १३ भदौ २०८० मा विद्युत् प्राधिकरणलाई रिलायन्स स्पिनिङ मिल्सको टीओडी डेटा उपलब्ध गराइदिन पत्राचार गरेको थियो । प्राधिकरणको इटहरी वितरण केन्द्रले ‘टीओडी मिटरको नयाँ डेटाले पुरानो डेटालाई प्रतिस्थापन गर्ने भएकाले उक्त अवधिको डाउनलोड डेटा उपलब्ध गराउन नसकिने बेहोरा अनुरोध छ,’ भन्ने जवाफ फर्काएको थियो ।

यी दुई पत्रबाट प्राधिकरणले प्रमाण बेगर उद्योगीमाथि ज्यादती गर्न खोजेको प्रमाणित हुन्छ। प्राधिकरणले आफूसँग टिओडी मिटरको रेकर्ड रहेको सार्वजनिक अभिव्यक्ति दिए पनि अदालतलाई जवाफ दिने क्रममा आफूसँग कुनै रेकर्ड नरहेको भनेको हो।

विद्युत् वितरण नियमावली, २०६९ अनुसार टिओडी मिटर जडान भएका ग्राहकको प्राविधिक कारणले गर्दा मिटरले वास्तविक खपत नदेखाई बिलिङ छुट भए त्यस्तो छुट खपत युनिट र डिमान्ड चार्जबापत मिटरको डाउनलोड डाटा विश्लेषण गर्दा यकिन भएअनुसारको रकम छुट बिल गरिनेछ। तर, प्राधिकरणसँग डाउनलोड डाटै छैन।

प्रधिकरणले ६१ वटा उद्योगले करिब २५ अर्ब बक्यौता तिर्न बाँकी रहेको भनेको छ भने ९ वटा उद्योगको लाइन काटिसकेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगको बिजुली काट्न निर्देशन दिएसँगै प्राधिकरणले विद्यूत अवरोध गरेको थियो ।

उद्योगीले प्राधिकरणले बिजुली प्रयोग गरेको प्रमाण दिए आफूहरु शुल्क तिर्न तयार रहेको भन्दै पत्रकार सम्मेलन नै गरिरहेका छन् । तर, प्राधिकरण भने उद्योग बन्द गराएर आफूविरुद्धको प्रश्नसँगसमेत डराइरहेको छ ।

पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित

नेपाल विद्युत् प्राधिकरणले बुधबार दिउँसो १ बजेका लागि गर्न खोजेको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित गरेको थियो । प्राधिकरणले सीमित पत्रकार राखेर ट्रंक र डेडिकेटेड लाइनबारेको भनाइ सार्वजनिक गर्न खोजेको थियो । पत्रकार सम्मेलनबारे हल्ला फैलिएपछि धेरै पत्रकार आउने र आफू विरुद्धका प्रश्न सामना गर्नुपर्ने देखिएपछि पत्रकार सम्मेलन स्थागित गरिएको थियो ।

कुलमानसँग रिसाए जनार्दन शर्मा

पूर्व अर्थ र उर्जामन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग रिसाएका छन् । आफ्नै पार्टीले गरेको कामप्रति शर्माले गम्भीर असन्तुष्टि जनाएका हुन्। शर्माले फर्जी बिलको विषयमा प्राधिकरणले स्पष्ट पार्नुपर्ने बताएका छन् । फेसबुकमा कुलमान विरुद्ध खनिदै विद्युत खपत बढाउनु पर्ने बेलामा उद्योगको बिजुली काट्नु ठिक नभएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?