राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बैंकिङ्ग प्रणालीमा पठाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ‘बिहीवार’देखि १५ अर्ब रुपैयाँ बैंकिङ्ग प्रणालीमा पठाउने भएको छ। 

राष्ट्र बैंकले तेस्रो त्रैमासिक अन्त्यमा बैंकिङ प्रणालीबाट ठूलो रकम बाहिरिने भएको भन्दै बैंकिङ्ग प्रणालीमा पठाउने भएको हो । साथै, बैंकमा तरलता असहज नहोस भनेर एकै पटक १५ अर्ब रुपैयाँको रिपो जारी पनि गरेको हो।

चैत मसान्तमा बैंकिङ प्रणालीबाट कर तथा राजश्व बुझाउन ठूलो रकम सरकारी खातामा जाने भएपछि केन्द्रीय बैंकले एक हप्ता अवधिको रिपो जारी गरेको हो। रिपोका लागि ५ प्रतिशतभन्दा माथि ब्याज तय गरिएको छ। रिपो आउँदो बैशाख ५ गते परिपक्व हुनेछ ।

सरकारले करको दोस्रो किस्ता चैत महिनामा संकलन गर्ने गर्छ। कर भुक्तानीका कारण बैंकिङ्ग प्रणालीमा तरलताको समस्या नदेखियोस भनेर रकम पठाउन लागेको राष्ट्र बैंकले जनाएको छ।

हाल वित्तीय प्रणालीमा ३० अर्ब बढीको तरलता रहेको राष्ट्र बैंकको भनाई छ। 

त्यस्तै तेस्रो त्रैमासिक प्रतिवेदनमा कर्जा निक्षेप अनुपात तोकिएको सीमाभित्र राख्न बैंकहरुबीच अन्तर बैंक कारोबार बढेको भन्दै सीमामा ल्याउन रिपो जारी गरेको हो । अहिले बैंकहरुले झण्डै ६ प्रतिशतको हाराहारीमा अन्तर बैंक कारोबार गरिरहेका छन्।

राष्ट्र बैंकले बजारमा पैसा अभाव हुँदा रिपोमार्फत बजारमा पैसा पठाउने र बढी भएमा रिभर्स रिपोमार्फत बैंकिङ्ग प्रणालीबाट रकम खिच्ने काम गर्दै आइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?