काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले व्यापक स्तन हेरचाह केन्द्र संचालनमा ल्याएको छ ।
महिलाहरुमा बढ्दै गएको स्तन क्यान्सर र उपचारको अभावका कारण मृत्यु व्यहोरनुपर्ने अवस्थालाई मध्यनजर गर्दै अस्पतालले आईतबारदेखी सो सेन्टर सञ्चालनमा ल्याएको हो ।
यस सेन्टर अन्र्तगत महिलाहरुले सबै किसिमका उपचार, निदान, स्तन रिकन्सट्रक्सन तथा जनचेतनाका लागि तालिमको सेवा एकै छतमुनिबाट प्राप्त गर्न सक्नेछन् ।
यस विभागबाट विभिन्न परीक्षण, शल्यक्रिया तथा शल्यक्रिया पछि नक्कली स्तन राख्ने वा रिकन्स्ट्रक्सनको सुविधा पनि प्रदान गरिन्छ । सेन्टरको उद्धघाटन अभिनेत्री मनिषा कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा र महिला उद्यमी महासंघ नेपालका निवर्तमान अध्ययक्ष निरु रायमाझीले संयुक्त रुपमा गरेका थिए ।
अस्पतालका अध्यक्ष उपेन्द्र महतोले नेपालीहरुलाई स्वदेशमै सम्पूर्ण सेवा प्राप्त होस् भन्ने उद्धेश्यले विशेषज्ञ केन्द्रहरु एकपछि अर्को सञ्चालन गरेको बताए ।
सेन्टरका प्रमुख तथा प्रिन्सिपल कन्सलटेन्ट डा. ज्योति रायमाझीले स्तन क्यान्सर आफैले छामेर पत्ता लाग्न सक्ने रोग भएतापनि कति महिलाहरुलाई कसरी जाँच्ने भन्ने विषयमा थाहै नभएको बताइन् ।स्तन क्यान्सर पुरुषमा पनि देखिने उनको भनाई छ ।
अध्ययनहरुका अनुसार एकलाख महिलामा ११८ जनामा स्तन क्यान्सर देखिन्छ भने एकलाख पुरुषहरुमा एक जनामा स्तन क्यान्सर देखिने गरेको छ ।
रेडियोलोजिस्ट तथा ब्रिस्ट इमेजिङमा फेलोसिप गरेका डा. कुन्दना रायमाझीका अनुसार सबै स्तनको क्यान्सर छामेर मात्रै पत्ता लगाउन सकिँदैन । यसको लागि म्यामोग्राम परीक्षण गराउनुपर्दछ । प्रारम्भिक चरणमै स्तन क्यान्सर छ वा छैन भन्ने पत्ता लगाउन म्यामोग्राम परीक्षण गरिन्छ । ‘मटरको दाना भन्दा सानो क्यान्सरको गिर्खा हुँदा हातले भेट्न सकिन्न तर म्यामोग्राम परीक्षण गर्दा पत्ता लाग्छ । त्यस्तै, क्यान्सर कुन स्टेजमा पुगेको छ भन्ने थाहा पाउन ग्रिर्खाको आकारमा भर पर्छ,’ डा कुन्दनाले भनिन् ।
सामान्यतया, म्यामोग्रामको परीक्षण ४० वर्ष नाघेपछि गरिन्छ भने ४० वर्ष भन्दा कम उमेर समूहका महिलाहरुलाई स्तनको अल्ट्रासाउण्ड परीक्षण मात्र गराइन्छ । तर जो महिलाको आमा अथवा परिवारमा कुनै व्यक्तिहरुलाई स्तन क्यान्सर भएको इतिहास छ भने स्तन क्यान्सर हुने जोखिम धेरै हुन्छ । त्यसैले ती महिलाले ३० देखि ३५ वर्षको उमेरमै म्यामोग्राम गराउन आवश्यक रहेको डा कुन्दनाले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया