काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपाली साहित्यलाई अन्य भाषामा अनुवाद गरेर प्रकाशन गर्न सके विश्व साहित्यमा प्रतिस्पर्धा गर्न सकिने बताएका छन् ।
पाँचौं ‘बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ विजेताको घोषणा, पुरस्कार वितरण र कथासंग्रह विमोचन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
साहित्यमा कथा व्यावहारिक विधा हो भन्दै उनले कथाबाट सारा संसार हेर्न सकिने उल्लेख गरे ।
‘छोटो समयमा सानो आँखीझ्यालबाट ठूलो संसार हेर्न सकिने विधा कथा हो । यो विधालाई निरन्तर गरेर स्तर वृद्धि गर्ने हो भने विश्व साहित्यमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुग्छौं होला । यो लिखित साहित्यको अनुवाद होस्, जति सकिन्छ अन्य भाषामा अनुवाद गरेर प्रकाशन गर्न सकियो भने विश्व साहित्यमा हाम्रो उपस्थिति देखाउन सक्ने मौका हुन्छ ।’
साहित्यलाई मन पाल्ने विधा भन्दै उनले भने, ‘मैले पेट पाल्ने विद्यामा जीवन बिताएँ, मन पाल्ने विधामा तपाईंहरु हुनुहुन्छ । पेट पाल्नेहरुलाई मन पाल्ने विधि जबसम्म सिकाउँदैनौ तबसम्म विकासको समन्वय हुँदैन र सही विकासको सम्भावना छैन ।’नेपालमा साहित्यकारहरुको अवस्था त्यति राम्रो हुन नसकेकामा उनले चिन्ता व्यक्त गरे ।
‘हाम्रा कथ्य विषय धेरै छन् तर त्यो अकथ्य हुँदै गइरहेको छ । लेखेर के हुन्छ भन्दै कथ्य परम्पराबाट पलायन हुने परम्परा भएको छ’ श्रेष्ठले भने, ‘हाम्रा साहित्यकारहरुको अवस्था त्यति राम्रो भएको छैन, साहित्यकारहरुलाई गरिब बनाएर, सिर्जनशील समुदायलाई गरिब बनाएर र जर्जर भएको राजनीतिलाई बलियो बनाएर हुँदैन ।’राजनीतिले समाधान र हौसला दिन नसकिरहेको भन्दै उनले त्यसलाई उत्पादनहीनको संज्ञा दिए ।
‘राजनीतिले देशको महिमा बढाउनेभन्दा पनि पीडा दिएको छ । म साहित्यकारहरुलाई आदर गर्न चाहन्छु उहाँहरुले अकथ्य भएको साहित्यलाई कथ्य बनाइरहनु भएको छ । सिर्जनशीलतालाई निरन्तरता दिइरहन आग्रह पनि गर्न चाहन्छु’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया