राप्रपा (संयुक्त)लाई राजनीतिक दलको मान्यता, राजसंस्थालाई ब्यूँताउने अध्यक्षद्वयको उद्धोष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)लाई निर्वाचन आयोगले राजनीतिक दलको रुपमा मान्यता दिएको छ । 

बुधवार पत्रकार सम्मेलन गर्दै राप्रपा (संयुक्त) अध्यक्षद्वय डा. प्रकाश चन्द्र लोहनी   पशुपति सम्शेर जबराले सो बारे जानकारी दिएका हुन् । 

अब राप्रपा (संयुक्त) विधिवत र औपचारिक रुपमा मान्यता प्राप्त राजनीतिक दलको रुपमा राष्ट्रिय राजनीतिमा क्रियाशिल रहेको अध्यक्षद्वय जानकारी दिए । पार्टीको निर्वाचन चिन्ह ‘हलो’ भएको पनि सो अवसरमा जानकारी दिइयो । 

साथै पार्टीले राजनीतिक शक्तिहरु बीचको वृहत्त सहमतिमा साझा संस्थाको रुपमा राजसंस्थालाई ब्यूँताउने उद्घोष समेत अध्यक्षद्वयले गरेको छन् । 

‘देशमा विद्यमान सबै धर्म बीच समानता र पूर्ण धार्मिक स्वतन्त्रतालाई कायम राख्दै नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गर्न मुलुकमा कायम रहेका क्रियाशिल सबै राजनीतिक शक्तिहरु बीचको वृहत् सहमतिमा साझा संस्थाको रुपमा दल विशेष भन्दा माथि रहने त्यो पुरानो संस्थालाई राष्ट्रप्रमुखको रुपमा स्थापित गर्न, संविधानतः गठित तल्लो तहका सबै इकाईहरुमा शक्तिको हस्तान्तरण, उदार अर्थतन्त्र, असंलग्न परराष्ट्रनीति, वर्तमान संविधानका केही परिर्वतनीय प्रावधान प्रतिको असहमतिलाई कायम राख्दै संविधानसंग सहकार्य र प्रतिवद्धता, बहुलवादी प्रजातन्त्रलाई व्यवहारमै समावेशी तुल्याउन र सम्पूर्ण जनतामा प्रणालीप्रति अपनत्व र स्वामित्वको व्यवहारिक अनुभूति दिलाउन निरन्तरता सहितको परिर्वतनको प्रतिवद्धता राप्रपा (संयुक्त) का मुख्य नीति र सिद्धान्त हुन्’ राप्रपाका दुवै अध्यक्षले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रेस विज्ञप्ति

१.      निर्वाचन आयोगले राष्ट्रिय प्रजातान्त्र पार्टी (संयुक्त) लाई संविधान सम्मत र कानुनी रुपमा राजनीतिक दलको रुपमा मान्यता दिएको छ । अब राप्रपा (संयुक्त) विधिवत र औपचारिक रुपमा मान्यता प्राप्त राजनीतिक दलको रुपमा राष्ट्रिय राजनीतिमा क्रियाशिल रहेको छ । यसका लागि निर्वाचन आयोगलाई धन्यवाद र देशभरका राप्रपा (संयुक्त) का नेता तथा कार्यकर्ताहरुलाई बधाई दिन चाहन्छौं । 

२.      राप्रपाको संघर्षशिल गौरवमय इतिहास र पहिचानको प्रतिक रहेको निर्वाचन चिन्ह ‘हलो’ राप्रपा (संयुक्त) ले प्राप्त गरेको छ । पार्टीका तमाम कार्यकर्ताहरुको आस्था, विश्वास र भरोसा बोकेको निर्वाचन चिन्ह ‘हलो’ राप्रपा (संयुक्त) ले प्राप्त गर्नु हाम्रोे लागि गर्व र गौरवको विषय हो । अब चुनाव चिन्ह हलो र राप्रपा (संयुक्त) को झण्डा मुनि गोलबद्ध भएर पार्टी संगठनलाई सशक्त र प्रभावकारी रुपमा मुलुक भरी नै अगाडि बढाउनु हामी सबैको दायित्व हुन आएको छ । झण्डा र हलोले राप्रपा (संयुक्त) लाई मूलधारको संस्थापन पक्ष बनाएका छन् । 

३.      राप्रपा (संयुक्त) को वैचारिक आधार राष्ट्रियता, प्रजातन्त्र र सम्र्वद्धनवादी उदारवाद र प्रगतिशील आधुनिकरण हो भने देशमा विद्यमान सबै धर्म बीच समानता र पूर्ण धार्मिक स्वतन्त्रतालाई कायम राख्दै नेपाललाई सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गर्न (यस एजेण्डालाई हामीले संविधानसभामा फरक मत सहित दर्ता गराएका थियौं), मुलुकमा कायम रहेका क्रियाशिल सबै राजनीतिक शक्तिहरु बीचको वृहत् सहमतिमा साझा संस्थाको रुपमा दल विशेष भन्दा माथि रहने त्यो पुरानो संस्थालाई राष्ट्रप्रमुखको रुपमा स्थापित गर्न, संविधानतः गठित तल्लो तहका सबै इकाईहरुमा शक्तिको हस्तान्तरण, उदार अर्थतन्त्र, असंलग्न परराष्ट्रनीति, वर्तमान संविधानका केही परिर्वतनीय प्रावधान प्रतिको असहमतिलाई कायम राख्दै संविधानसंग सहकार्य र प्रतिवद्धता, बहुलवादी प्रजातन्त्रलाई व्यवहारमै समावेशी तुल्याउन र सम्पूर्ण जनतामा प्रणालीप्रति अपनत्व र स्वामित्वको व्यवहारिक अनुभूति दिलाउन निरन्तरता सहितको परिर्वतनको प्रतिवद्धता राप्रपा (संयुक्त) का मुख्य नीति र सिद्धान्त हुन् । 

४.     वर्तमान प्रणालीको स्वरुप र दायराभित्रै रहेर मौजुदा संविधानसंग सहकार्यको आधारमा शान्तिपूर्ण अहिंशात्मक बाटोबाटै राष्ट्रिय सहमति र जनअभिमतको माध्यमबाट देशमा विद्यमान परम्परागत शक्ति लगायत सबै ठूला साना राजनीतिक शक्तिको साझा चौतारीको रुपमा मौजुदा प्रणालीमा सुधार एवं परिमार्जन हाम्रो अभिष्ट हो । यो प्रणालीले वर्तमान सन्दर्भ र अवस्थामा देशमा विद्यमान सबै विचार र शक्तिहरुलाई समेट्न नसकेको आजको यथार्थ रहेको हुँदा राप्रपा (संयुक्त) प्रणालीलाई बढी समावेशी र सहभागितामूलक तुल्याउन कृत संकल्पित छ । 

५.      दुई तिहाई नजिकको कम्युनिष्ट सरकार स्थायित्व, शान्ति, सुरक्षा, सुशासन, आर्थिक सामाजिक र राजनीतिक राहत, सेवा सुविधा र सरकारकै भाषाको सुखी नेपाली र समृद्ध नेपालको प्रतिवद्धता पुरा गर्न सफल नहुने प्रष्ट भैसकेको छ । विहानीले दिनको संकेत गर्छ भने जस्तै एक वर्षमा यो सरकारको हविगत र हैसियत देखिइसकेको छ । सुशासन र समृद्धका निम्ति गाउँ–गाउँमा सिंहदरबार भन्ने नारालाई सत्तारुढ दलले गाउँ–गाउँमा संगठित संस्थागत भ्रष्टाचार तथा कुशासनमा रुपान्तरण गरिरहेको छ । रेल, पानी जहाज र मेट्रो रेलको सपना बाँडेर तीनै तहका सरकार संगठित नियोजित रुपमा जनतालाई धान्नै नसक्ने करको भारी बोकाएर समाजवादका नाममा नीतिगत र संस्थागत भ्रष्टाचार वेलगाम गतिमा दौडिएका छन् । ३३ किलो सुन, वाइडवडी विमान खरिदकाण्ड बुढीगण्डकीको ठेक्का र महालेखाले स्थानीय तहमा भएका भ्रष्टाचार र अनियमितता औल्याएकोमा कारवाही गर्नमा सरकारले दर्शाएको उदासिनता यो सरकार र सत्तारुढ दल भ्रष्टाचारमा लिप्त रहेका केही प्रतिनिधिमूलक घटना हुन् । संगठित रुपमा संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन दिने सरकार र सत्तारुढ दलले ‘सुखी नेपाली समृद्ध नेपाल’ को गफ लगाउनु भैंसी सामु विनबाजा बजाउनु जस्तै हो ।

६.      वर्तमान संविधानको भावना र मर्म विपरित कम्युनिष्ट सरकार नागरिकका वाक् तथा प्रकाशन स्वतन्त्रता माथि अघोषित रुपमा बन्देज लगाउने, न्यायालय देखि सबै अंग र निकायमा चरम दलीयकरण गर्ने, हस्तक्षेपको माध्यमबाट अदालतका निर्णय प्रभावित गरेर शक्ति पृथकिकरणको सिद्धान्त, भावना र मर्म माथि प्रहार गर्ने , विरोधी मत र विचारका दल माथि प्रतिबन्ध लगाउने, प्रतिपक्षका शान्तिपूर्ण अहिंसात्मक विरोध कार्यक्रम, सभा र जुलुसलाई शक्ति प्रयोगका आधारमा रोक्ने र निषेधित तुल्याउने, संवैधानिक अंग र निकायहरुको निकायगत स्वतन्त्रतामा हस्तक्षेप गरेर पंगु तुल्याउने, संविधानको प्रावधान विपरित संवैधानिक पदहरुमा नियुक्ति प्रक्रिया अवलम्बन गर्ने प्रधानमन्त्रीको तजवीजमा सेना परिचालनको प्रयास लगायतका कार्यहरुमा नियोजित रुपमा सक्रिय देखिएको छ । संविधान उल्लघंनका यी यावत घटनाले वर्तमान सरकारबाट संविधानको पालना र संरक्षण हुनेमा राप्रपा (संयुक्त) सशंकित छ । त्यस्तै नागरिकता सम्बन्धी विधेयक संसदमा छलफलको क्रममा रहेको अवस्थामा नागरिकता सम्बन्धी प्रावधान गृह मन्त्रालयको आदेशबाट परिवर्तन गर्न खोज्नु संसदकै अपमान हो । यस्तै भेदभावपूर्ण नीतिको आधारमा भएको कर्मचारी समायोजनको दुष्परिणाम चिकित्सकहरुको राष्ट्रव्यापी हड्तालबाट उजागर भएको छ ।  

७.      सिंगो मुलुकलाई कमिशन भ्रष्टाचारको आहालमा डुवाउँदै उर्जाशिल र उत्पादनशील नेपाली युवा पुस्तालाई पेट पाल्नका लागि विदेश तिर धकेलिरहेको बेला नेपालमा औद्योगिक लगानीका निम्ति आयोजना गरिएको लगानी सम्मेलन भोज भतेर भन्दा बढी देखिएन । यो सरकारलाई बाह्य र आन्तरिक लगानीकर्ताले पत्याएको तथा विश्वास गरको अनुभूति भएन । एकातिर संविधानमै नेपाललाई ‘समाजवाद उन्मुख राष्ट्र’ परिभाषित गरेर उदार र खुला बजार अर्थतन्त्र अवलम्बन गरेका राष्ट्र र अन्तर्राष्ट्रिय वित्तीय संस्था तथा संस्थागत एवं व्यक्तिगत लगानीकर्तालाई झस्काएको अवस्था छ भने अर्कातिर लोकतन्त्रका विश्वव्यापी मूल्य, मान्यता र आर्दश प्रति वर्तमान सरकार इमान्दार एवं प्रतिवद्ध रहेको विश्वास दिलाउन सत्तारुढ दल र सरकारका व्यवहार, आचरण र नियत प्रष्ट तथा सफल देखिएनन् । सरकार विद्युत उत्पादन लगायत हर क्षेत्रमा आफ्नो नेतृत्वलाई नै हस्तक्षेपकारी एकाधिकारको रुपमा स्थापित हुन लागेको देखिन्छ । यस परिपे्रक्षमा विद्युत लगानीमा सरकारले शुरुमा नेतृत्व लिए पनि क्रमिक रुपमा योजना वा परियोजनाको स्वामित्व शेयर विक्री मार्फत जनतामा हस्तान्तरण गरेर जानु उपयुक्त हुनेछ । दाता तथा लगानी कर्ताहरुलाई यो नीति सम्झाउन पनि सरकार चुकेको पाइन्छ । यर्थाथमा गोयवल्स शैलीमा प्रचारित अन्तर्राष्ट्रिय लगानी सम्मेलन पनि वागमति नदीमा पानी जहाज चलाउने गफ जस्तै रह्यो । 

८.     नेपाललाई बेथिति, अराजगता र अधिनायकवाद तर्फको यात्राबाट रोक्नका लागि वहुलवादी प्रजातन्त्रमा विश्वास राख्ने देशमा क्रियाशिल सबै ठूला साना राजनीतिक दल र नागरिक समाजलाई सजग रहन तथा न्यूनतम कार्यक्रमिक सहमति तथा सहकार्यको खाँचो महसुस राप्रपा (संयुक्त) लाई भएको छ । साथै हाम्रो नीति र सिद्धान्त मिल्ने सबै दल, समुह र चेतनशील नागरिक समाजसँग एकता तथा सहकार्यको लागि आव्हान समेत गर्दछौं । 

९ अन्त्यमा, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाई एवं नेपालसँग दौत्य सम्बन्ध कायम भएका राष्ट्रहरुका राष्ट्र प्रमुख, सरकार प्रमुख र मैत्रीपूर्ण जनतामा राप्रपा (संयुक्त) को तर्फबाट नव वर्ष वि.स. २०७६ को मंगलमय शुभकामना व्यक्त गर्दछौं । 
…………………………….              ………………………….
डा. प्रकाश चन्द्र लोहनी                    पशुपति सम्शेर ज.ब.रा.
            अध्यक्ष                     अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?