प्रधानमन्त्री ओलीद्वारा सगरमाथा मापनमा जाने टोलीको बिदाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेको  कर्मचारीको टोलीलाई आज विदाइ गरेका छन् । 

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली आज त्यस तर्फ जाँदै छन् । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन् । टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित शुभकामना तथा विदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यस टोलीको प्रतिवदेन आधिकारिक हुने बताएका छन् । “नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुँदैछ । तपाईंहरुले सेन्टीमिटर सहितको उचाइ नापेर ल्याउनु होला” प्रधानमन्त्री ओलीले भने, “तपाईंहरुले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ ।”

 प्रधानमन्त्री ओलीले टोलीलाई लक्ष्य हासिल गर्नका लागि शुभकामना दिएका छन् । तर, मौसम र स्वास्थ्यलाई भने ख्याल गर्न प्रधानमन्त्रीले सुझाउनु भएको छ । “लक्ष्यमा अडिग रहनुहोस तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकुल भयो भने जिद्धी नगर्नुहोस । सगरमाथा त्यही हुन्छ । अर्को पटक गएर नापेर आए हुन्छ” प्रधानमन्त्री ओलीले भने “गाइडको निर्देशन पालना गर्नुहोला ।”

  सरकारको तर्फबाट सगरमाथाको उचाइ मापन कार्य ऐतिहासिक भएको प्रधानमन्त्री ओलीको भनाइ छ । विदाइ कार्यक्रममा मन्त्री पद्मा आर्याल पनि थिइन् ।  सोही कार्यक्रममा मन्त्रालयका तर्फबाट प्रादेशिक विभाजन अनुसारको नेपालको प्रशासनिक नक्सा पनि प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?