सन्दीप लामिछानेविरुद्धको बलात्कार प्रकरण : स्थानीय तहले भन्यो ‘पीडितको जन्ममिति २०६१ असार १८ नै हो’

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर भएको जबरजस्ती करणी मुद्दाको अन्तिम सुनुवाइको तयारी भएको छ ।

२०७९ कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा दर्ता भएको उक्त मुद्दा करिब १४ महिनापछि फैसलाको तयारीमा पुगेको छ । ३३ पटक पेशी तारेख र २८ पटक इजलासमा पेश भएको उक्त मुद्दामा आइतबार फैसलाको तयारी गरिएको छ । आइतबारको पेसीमा सन्दीपको मुद्दा रहेको फाँट नम्बर २८ को गोला न्यायाधीशले तानेको अवस्थामा उक्त मुद्दामा फैसला हुने निश्चित जस्तै छ ।

मुख्यतः उमेर विवादमा केन्द्रीत रहेको यो मुद्दामा जाहेरवाली गौशाला २६ को जन्ममिति तीनवटा देखिएको छ । वादी नेपाल सरकारले गौशाला २६ नाबालिग हुन् भनेर उनको नागरिकताको प्रतिलिपि, एसइईको प्रमाणपत्रको प्रतिलिपि र प्रतिलिपि निकालिएको जन्मदर्ताको प्रमाणपत्रको फोटोकपी पेश गरी जाहेरवालीको जन्ममिति २०६२ जेठ १८ गते रहेको दावी गरेको छ । यता प्रतिवादी सन्दीप लामिछानेतर्फका कानुन व्यवसायीहरुले भने जाहेरवाली गौशाला २६ को जन्ममिति २०६१ जेठ १८ गते रहेको तर जाहेरवालीले पहिले पेश गरेका कागजातमा जन्ममिति २०६१ असार १८ गते रहेको भनी कागजात पेश गरेकाले सोही मितिलाई आधिकारिक मान्नुपर्ने दावी गरेका छन् । जन्मदर्ता सूचना फारम, जन्मदर्ताको पहिलो प्रमाणपत्र, बसाइसराईको सूचना फारम र बसाइसराईको कागजमा गौशाला २६ को जन्ममिति २०६१ असार १८ गते रहेको उल्लेख गर्दै सोही मितिलाई प्रमाणका रुपमा लिनुपर्ने दावी गरेका छन् । जाहेरवालीको जन्म भएको भनिएको पर्साको एक अस्पतालको रेकर्डमा भने उनको जन्ममिति २०६१ जेठ १८ गते बिहान ६ बजे रहेको उल्लेख छ ।

उक्त अस्पतालको रेकर्ड बुकमा आमाको नाममा गौशाला २६ को आमाको नाम उल्लेख गरी त्यसको पछाडि देवी राखिएको छ ।

उक्त रेकर्ड बुकमा गौशाला २६ को आमाको उमेर २८ वर्ष उल्लेख गरिएको छ । सोही मितिलाई आधार मान्दा उनको आमाको उमेर हाल ४६ वर्ष लागेको हुन्छ र स्थानीय तहमा रहेको भनिएको उनको आमाको जन्ममिति २०३५ फागुन २१ लाई हेर्दा म्याचिङसमेत भएको देखिन्छ । त्यो मितिलाई हेर्ने हो भने वारदात भएको भनिएको मितिमा जाहेरवालीको उमेर १८ वर्ष ३ महिना पुगेको हुन्छ । तर काठमाडौंको एक स्थानीय निकाय र नुवाकोटको एक स्थानीय तहमा रहेको सरकारी रेकर्डमा भने जाहेरवाली गौशाला २६ को जन्ममिति २०६१ असार १८ नै रहेको उल्लेख छ ।

जाहेरवालीको उमेरमा विवाद आई फरकफरक देखिएपछि काठमाडौं जिल्ला अदालतले २०८० जेठ ८ गते नुवाकोटको स्थानीय तहलाई जाहेरवालीको उमेर यकिन गरी पठाउन आदेश दिएको थियो । अदालतको चलानी नम्बर ०७९–३९–०३६००२ को पत्रको जवाफ उक्त स्थानीय तहले पत्र सङ्ख्या ०७९/८०, चलानी नम्बर ७१९ बाट दिएको छ । उक्त पत्रमा स्थानीय तहले स्पष्टरुपमा जाहेरवाली गौशाला २६ को जन्ममिति २०६१ असार १८ गते रहेको र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि लिँदा एसइईमा भएको जन्ममिति अनुसार सिफारिस गरिदिन निवेदन दिएकाले सोही अनुसार दिइएको उल्लेख गरेको छ ।

लोकपथलाई प्राप्त नुवाकोटको स्थानीय तहको पत्रमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि लिँदा के कति आधारमा उमेर घटाइएको हो भनेर लेखिएको छ । तीन बुँदामा लेखिएको स्पष्ट पारिएको पत्रमा गौशाला २६ को जन्ममिति २०६१ असार १८ नै प्रमाणित हुने उल्लेख गरेको छ ।

नुवाकोटको स्थानीय तहले काठमाडौं जिल्ला अदालतलाई बुझाएको पत्रमा यस्तो भनिएको छ :

विषय : स्पष्ट जवाफ सहित विवरण पठाईएको सम्बन्धमा ।

प्रस्तुत विषयमा यस कार्यालयमा काठमाडौं जिल्ला अदालतको च.नं. ०७९–३९–०३६००२ को मिति २०८०/२/८ को पत्र अनुसार मुद्धा नं. ०७९–c–०७८६ को मुद्धामा सम्मानित जिल्ला अदालतबाट भएको आदेश बमोजिमको विवरण पठाईएको ।

१. यस …… गाउँपालिका वडा नं. …. को कार्यालयमा जन्मको सूचना भरी जन्ममिति २०६१/३/१८ अनुसार गौसल्ला २६ को जन्मदर्ता प्रमाणपत्र निजको अभिभावकले आफैँ जन्मदर्ता सूचना फरम भरी सो विवरणको आधारमा सुचना दिन आएको र कानुन अनुसार जन्म दर्ता गरी पाउँ भनि यस कार्यालयमा मिति २०७५/९/१८ मा निवेदन दिनुभएको र सो बमोजिम २०६१०३१८००५९२ को फारम दर्ता अभिलेख भई मिति २०६१।३।१८ जन्ममिति रही जन्म दर्ता प्रमाण पत्र प्रदान गरिएको जानकारी गराईन्छ ।

२. पछि गौसल्ला २६ ले सुरुको जन्मदर्ता प्रमाणपत्र हराएको र नागरिकता बनाउनको लागि जन्मदर्ता प्रमाणपत्र आवश्यक परेकोले जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी माग गरेकोले निजको एस.इ.ई. ग्रेड सिट अनुसारको मिति उल्लेख गरी उक्त प्रतिलिपी फर्म दर्ता नं २०६१०३१८००५९२ स्वत साविकको नै हुने हुँदा सो प्रतिलिपीमा जन्ममिति २०६२।२।१८ निजको माग अनुसार उल्लेख गरी जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी मिति २०७९।३।१४ मा जारी भएको व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ । साथै निजको जन्ममिति २०६१।३।१८ प्रमाणित हुने जानकारी जन्मसूची बसाईसराई अभिलेख किताव र निजको प्रथम जन्मदर्ता प्रमाणपत्रबाट देखिन्छ ।

३. निजको प्रतिलिपी मागको समयमा निज एस.ई.ई ग्रेडसिट अनुसारको जन्ममिति उल्लेख गरी प्रतिलिपी पाउँ भनि अनुरोध गरेकोमा प्रतिलिपी दिईएको तर उक्त प्रतिलिपी फारम दर्ता मिति २०७५।९।१८ र फारम दर्ता ०६१०३१८००५९२ नै कायम रहि मिति २०७२।३।१४ मा प्रतिलिपी जारी गरिएको साथै उक्त समयमा अनलाईन मार्फत कार्य भएकोले कार्यालयमा जन्मदर्ता किताव अभिलेख नरहेको र अनुसूची फारमलाई नै आधार मानि जन्मदर्ता प्रमाणपत्र जारी गरिएको र सम्बन्धित कागजात र सोको सक्कल यस अघिको आदेश बमोजिम सम्मानित अदालत समक्ष पठाईएको व्यहोरा अनुरोध गर्दै उक्त कागजातको फोटोकपी यसैसाथ संलग्न रहेको व्यहोरा अनुरोध गरिन्छ ।

हेर्नुहोस् स्थानीय तहले पठाएको पत्रको बुँदा

नोट : पहिचान गोप्य राख्नुपर्ने भएकाले स्थानीय तहको नाम तथा प्रमाणित गर्ने पञ्जिकाधिकारीको नाम छोपिएको छ ।

यसरी स्थानीय तहले काठमाडौं जिल्ला अदालतमा पठाएको पत्रमा जाहेरवाली गौशाला २६ को जन्ममिति २०६१ असार १८ नै प्रमाणित हुने उल्लेख गरेको छ । सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा उमेर विवाद नै मुख्य विषय रहेको छ । पीडित र वादी नेपाल सरकारका तर्फबाट वारदातको समयमा गौशाला २६ को उमेर १८ वर्षभन्दा कम भएको दाबी गरी मुद्दा दर्ता गरिएको थियो ।

त्यतिबेला वादी नेपाल सरकारले गौशाला २६ को जन्ममिति २०६२ जेठ १८ रहेको दावी गर्दै सोही अनुसारको नागरिकता तथा एसइईको प्रमाणपत्रको प्रतिलिपि पेश गरेका थिए । २०६२ साल जेठ १८ लाई जन्ममिति मान्दा वारादत भएको भनिएको मिति २०७९ भदौ ५ गते गौशाला २६ को उमेर १७ वर्ष ३ महिना मात्रै पुगेको हुन्छ ।

यता प्रतिवादी सन्दीप लामिछानेका कानुन व्यवसायीले भने पीडित भनिएकी गौशाला २६ को उमेर वारदात भएको भनिएको समयमा १८ वर्ष २ महिना रहेको र जबरजस्ती करणीको कुनै संकेत नदेखिएको कारण बालिग भइसकेको अवस्थामा (satutory rape) मा दोषी करार गर्न नमिल्ने दावी लिएका छन् । उनीहरुले पेस गरेको कागजातमा गौशाला २६ को जन्ममिति २०६१ असार १८ रहेको दावी गर्दै त्यतिबेला उनी १८ वर्ष २ महिनाको रहेका भनेका छन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ मा १८ वर्ष नपुगेकी किशोरीसँग आपसी सहमतिमै शारीरिक सम्पर्क राखे पनि त्यसलाई जबरजस्ती करणी मानिने व्यवस्था छ । संहिताको दफा २१९ को उपदफा २ मा मन्जुरी लिएर करणी लेनदेन गरेमा पनि बालिकाको उमेर १८ वर्षभन्दा कम भएमा त्यसलाई जबरजस्ती करणी मानिने भनिएको छ ।

सोही कानुनको आधारमा सन्दीपमाथि बालिका बलात्कारको अभियोग लगाएर १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिब क्षतिपूर्तिको माग गरिएको थियो । तर यदि किशोरीको उमेर १८ वर्ष पुगेको पुष्टी भएमा भने आपसी सहमतिमा करणी लेनदेन भएमा त्यसलाई करणी मान्न मिल्दैन । सन्दीपक्षका कानुन व्यवसायीले भने उक्त दिन कुनै जोर जबरजस्ती नभएको, सन्दीप र किशोरी हाँसीखुसी र सहमतिमै होटलमा गई बास बसेको, निस्कँदा पनि हात समाएरै हाँसी खुसी निस्किएको सिसीटिभी फुटेजमा देखिएको भन्दै त्यसलाई बलात्कार भन्न नमिल्ने जिकिर लिइरहेका छन् ।

लामिछानेलाई थुनामै राखिरहनु नपर्ने भन्ने सर्वोच्चको आदेशमा पनि मुख्यतः उमेर विवादलाई नै आधार लिइएको थियो । किशोरीको उमेर विवाद देखिएको र त्यसबाहेक ‘किशोरीको शारीरिक परीक्षण, घटना स्थिति मुचुल्का, सीसीटिभी फुटेज, टेक्स्ट म्यासेज, फेसबुक म्यासेज, स्न्यापच्याट म्यासेज लगायतका आधार र कारणबाट प्रतिवादीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्नेसम्मको अवस्था नरहेको’ भन्दै सर्वोच्च अदालतले लामिछानेलाई थुना बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्नसक्ने अधिकार दिएको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?