विप्लवले प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा अवरोध गर्ने

काठमाडौं । प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वपको नेकपा समूहले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 

सोमवार महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् । 

विप्लवले प्रतिबन्धको विरुद्ध चैत २६ गतेदेखि २९ गतेसम्म प्रतिवन्धविरुद्ध पर्चा वितरण र भण्डाफोर गर्ने, वैशाख २ गते कोणसभा, वैशाख ३ गते अन्तरक्रिया, वैशाख ४ गते मशाल जुलुस र वैशाख ५ गते नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरेका छन् । 

त्यस्तै वैशाख ६ गतेदेखि प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा अवरोध गर्ने र सहभागी हुन प्रतिबन्ध लगाउने घोषणासमेत विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन् । 

‘ओली सरकार र रामबहादुर थापा गृह प्रशासनको हाम्रो पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक बकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचारबाजीको हाम्रो पार्टी घोर निन्दा एवं भर्त्सना गर्दछ, यसको दृढताका साथ प्रतिरोध गर्न सिङ्गो पार्टी र आम नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ’ विज्ञप्तिमा लेखिएको छ । 

‘नेपाल राष्ट्र र नेपाली जनताको यो हबिगत बनाउने दलाल पुँजीपति वर्ग र त्यसको प्रतिनिधित्व गर्ने ओली सरकारको फाँसीवादी दमनको नेपाली जनतासहित हाम्रो पार्टीले शक्तिशाली प्रतिवाद गर्ने छ,’ विज्ञप्तिमा भनिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?