काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं तराई जोड्न निर्माणधीन फास्ट ट्रयाकलाई चिप्लेकिरा, कछुवा ट्रयाक भन्नुपर्ने अवस्था सृजना भएको टिप्पणी गरेका छन् ।
बुधबार प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था समितिको बैठकमा उनले, ७४ सालमा सेनाले जिम्मा लिएको फास्ट ट्रयाकको भौतिक र वित्तिय प्रगति एक चौथाइ मात्र भएको भन्दै फास्ट ट्रयाकलाई चिप्लेकिरा , कछुवा ट्रयाक भन्नुपर्ने अवस्था सृजना भएको टिप्पणी गरे ।
‘७४ सालमा जिम्मा लिएको हो फास्ट ट्रयाक सडकको यो अहिलेको गति यो अवस्थालाई हेर्दा र प्रस्तुत तथ्याङ्क हेर्दा भौतिक र वित्तिय प्रगति हेर्दा लगभग एक चौथाइ मात्र प्रगति भएको रिपोर्टलाई मान्ने हो भने फास्ट ट्रयाक होइन यो चिप्लेकिरा ,कछुवा ट्रयाक भन्नुपर्ने अवस्था सृजना भएको छ ।’ उनले भने ।
सभापति लामिछानेले राज्य सञ्चालन र प्राविधिक पक्षसँग जोडिएका विषयमा समेत सेनाले हात हाल्नु उचित नभएकोे तर्क गरे ।
उनले भने,‘ राज्य सञ्चालन सुशासन र विशेषगरी प्राविधिक पक्षसँग जोडिएका विषयहरु केही ठेक्का पट्टा लेनदेनका सन्दर्भमा समेत नेपाली सेना मैदानमा उत्रिने विषय ठिक हो कि होइन, भन्ने कुरा बहसमा हुनुपर्छ । ’
उनले सेनाको प्रतिष्ठासँगै जोडिएको राष्ट्रिय गौरवको आयोजनामा ६ वर्ष नाघिसक्दा भएको प्रगतिलाई हेर्दा सन्तुष्ट हुने अवस्था नदेखिएको उनको तर्क छ ।
‘महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन हेर्दा पनि आयोजनासँग प्रत्यक्ष सम्बन्ध नभएका गाडी फर्निचर आदीमा झण्डै २ अर्ब ७६ करोड अर्थात कुल खर्चको ८ प्रतिशत भन्दा बढि खर्च भएको देखिन्छ । परामर्श सेवामा १ अर्ब ५३ करोड कुल खर्चको झण्डै साढे ४ प्रतिशत खर्च भएको देखियो ।’ उनले भने,‘ कुल ११ प्याकेज मध्ये ४ प्याकेजको त खरिद प्रक्रियानै सुरु भएको छैन् भन्ने कुरा देखिएको छ । यो सेनाको प्रतिष्ठासँगै जोडिएको राष्ट्रिय गौरवको आयोजना ६ वर्ष नाघिसक्दा भएको प्रगतिलाई कसरी हेर्ने ?।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया