काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्थाको पक्षमा वृहत आन्दोलन गर्ने भएको छ ।
राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा जनदवाव सिर्जना गर्न वृहत आन्दोलन गर्ने भएको छ ।
आज सम्पन्न केन्द्रीय कार्यमितिको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा आन्दोलनमा उत्रिने निर्णय लिएको हो ।
राप्रपाले मुलुककाे बिग्रदाे अर्थतन्त्र, जनतामा बढ्दाे निराशा, चरम बेराेजगारी, बढ्दाे ऋणभार, युवाशक्तिकाे विदेश पलायन, भ्रष्टाचारलगायत जनजिविकाका मुद्दाहरूका साथै राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि वृहत आन्दोलन गर्ने बताएको छ ।
आन्दोलनका लागि समान विचार राख्ने दलहरु, अभियान तथा धार्मिक संघ, संगठन, उद्योगी, व्यावसायी, विभिन्न पेशाकर्मीहरु, बुद्धिजीवी एवम् देशभित्र र देशबाहिर रहेका सम्पूर्ण राष्ट्रवादी नेपालीलाई सरिक हुन राप्रपाले आह्वान गरेको छ ।
आन्दोलनका लागि पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरिएको छ । सो समितिमा केन्द्रिय कार्य समितिका सबै पदाधिकारी, केन्द्रिय सदस्यहरु तथा आमन्त्रित केन्द्रिय सदस्यहरु रहने छन् ।
यसैगरी, पार्टीका संगठन विभाग प्रमुख, महामन्त्री डा. धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको छ भने पार्टीका कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति गठन भएको छ । प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठको नेतृत्वमा प्रचार तथा प्रसार समिति गठन भएको छ ।
आन्दोलनको तयारीका लागि पुष र माघमा देशैभर व्यापक सभा तथा तयारीका कामहरु हुनेछन् । फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय राप्रपाले गरेको छ ।
तीन दिनसम्म काठमाडौंमा चलेको वैठक विभिन्न १३ बुँदे निर्णयसहित सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया