गण्डकी । पर्यटकीय नगरी पोखराको महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस स्थापनाकालदेखि नै छोरी बुहारीको अध्ययनको थलो बन्दै आएको छ ।
पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाको आम्दानीबाट क्याम्पस स्थापना गरी सञ्चालनमा आएसँगै यस क्षेत्रका छोरी बुहारीलाई शिक्षा आर्जनमा सहज भएको हो ।
गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले २०६५ सालदेखि स्थापना गरी यज्ञशाला भवनको दोस्रो तल्लाबाट सुरु भई अहिले आफ्नै आधुनिक सुविधा सम्पन्न भवनमा सञ्चालन हुँदै आएको उक्त क्याम्पसमा हाल कूल नौ सय २९ विद्यार्थी अध्ययनरत छन् ।
यसमध्ये ६९८ /७३ प्रतिशत छोरी-बुहारी अध्ययनरत रहेको क्याम्पस प्रमुख धर्मराज बरालले जानकारी दिए । उनका अनुसार व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायतर्फ विविएस, बीएड, विएचएम, विआइएम र एमविएस विषयमा स्नातक तहका कक्षा सञ्चालन भइरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसमा कास्की, स्याङ्जा, पर्वत, तनहुँ, लमजुङ, दाङलगायत जिल्लाका विद्यार्थी अध्ययनरत छन् गुणस्तरी शिक्षामा जोड दिएका कारण क्याम्पसमा विद्यार्थीको आकर्षण बढेको उनको दाबी छ ।
क्याम्पसले विभिन्न सङ्कायबाट सर्वोत्कृट अङ्क ल्याउने जेहेन्दार एवं विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीका अनुसार क्याम्पसलाई व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि पर्यटकीयस्थल डेभिजफलको उत्तरी भेगमा गुफाले तीन करोडभन्दा बढी लगानीमा खरिद गरेको पाँच रोपनी छ आना र पछि थप गरिएको १३ आना गरी छ रोपनी तीन आना जग्गामा भवन निर्माण गरिएको छ ।
उनले भने, ‘विश्वविद्यालय अनुदान आयोग र गुप्तेश्वर गुफा व्यवस्थापन समितिको आर्थिक सहयोगमा तेस्रो तल्ला थप्ने काम भइरहेको छ ।’ भारतीय दूतावासको चार करोड १० लाखको सहयोगमा भवन निर्माण गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी ३३ विद्यार्थीबाट सुरु गरिएको क्याम्पस सञ्चालनमा गुफाको २५ करोडभन्दा बढी लगानी भइसकेको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिनुभयो । आव २०७९र८० मा कूल चार करोड ६७ लाख आम्दानी गरेको क्याम्पसको चार करोड ८४ लाख खर्च भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया