विवाह पञ्चमी महोत्सव : जनकपुरधाममा भगवान राम र सीताको स्वयम्वर यसरी गरियो (फोटोफिचर)

लोकपथ
156
Shares

जनकपुरधाम । विवाह पञ्चमी महोत्सवको मुख्य दिन आइतबार दिउँसो ऐतिहासिक रंगभूमि मैदानमा भगवान राम र सीताको स्वयम्वर गरिएको छ ।

जनकपुरधामस्थित राम मन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रंगभूमि मैदान पुर्‍याइएको थियो । त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डप झाँकी र बाजागाजासहित साधुसन्त र श्रद्धालुहरु पुर्‍याइएको थियो ।

राम मन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पुर्‍याइएको मण्डपद्वारा पाँच पटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरियो । राम मन्दिरबाट पुगेको मण्डपबाट महन्तले जानकी मातालाई माला लगाई आरतीपूजन गरे ‌। यो विधिलाई नै स्वयम्वर भनिन्छ ।

स्वयम्वरपश्चात राम मन्दिरको डोला लावालस्करका साथ राम मन्दिर फर्केको छ । जानकी मन्दिरका सहायक महन्त रामरोषण दास वैष्णवका अनुसार आज राति मिथिला परम्पराअनुसार भगवान रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम हुनेछ ।

त्रेता युगमा मंसिर शुक्ल पञ्चमी तिथिमा श्रीराम जानकीको शुभविवाह भएको प्रसङ्ग रामायण ग्रन्थमा उल्लेख छ । त्यसकै सम्झनामा जनकपुरधाममा हरेक वर्ष धुमधाम तथा श्रद्धापूर्वक साताव्यापी विवाह पञ्चमी उत्सव मनाइँदै आएको छ ।

जनकपुरधाममा नेपाल र भारतका लाखौं श्रद्धालु आएका छन् । जानकी मन्दिरमा बिहानैदेखि वैवाहिक गीत र नाचमा श्रद्धालुहरु रमाइरहेका छन् । श्रद्धालुको सुरक्षाका लागि करिब २ हजार बढी सुरक्षाकर्मी तैनाथ छन् । साथै ड्रोन र सीसीटीभी क्यामेराबाट समेत प्रहरीले निगरानी गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?