काठमाडौं । बलियो चुनावी दलीय गठबन्धनलाई पाखा लगाउँदै स्वतन्त्र उम्मेदवारका हैसियतले प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा आफ्ना पक्षमा पार्न सफल किरणकुमार साह संसदकाे पहिलो बैठकमा बेग्लै पहिचान स्थापित गरी चर्चामा आए ।
अधिकांशले नेपाली र केहीले आ–आफ्ना मातृभाषामा सपथ लिइरहेका बेला उनले प्रतिनिधिसभाको पहिलो बैठकमा संसारको पुरानो संस्कृत भाषामा पद तथा गोपनीयताको शपथ लिएर सबैलाई आश्चर्यमा पारे ।
धार्मिक व्यक्ति जहिले पनि सत्य, न्याय र समानताका पक्षमा हुने तर्क दिँदै नेता साहले आफूले नेपाली भाषाको जननी संस्कृतमा शपथ लिएर सारा नेपालीलाई आफ्नो संस्कार र सस्कृति संरक्षणका लागि प्रेरित गरेको जिकिर गरे ।
उनले भने, “अरूलाई सम्मान गर्ने हाम्रो संस्कार थियो, नैतिक शिक्षा पढाइन्थ्यो, सामाजिक शिक्षाले समाजलाई बुझ्ने अवसर दिलाएको थियो । हाम्रा सबै गौरव हटाउँदा अनेकौँ विसङ्गति र विकृति पैदा भएका छन् ।”
रौतहटबासीसँग गरिएको प्रतिबद्धता कार्यान्वयनलाई मूर्तरूप दिन दृढ सङ्कल्पका साथ आफू अघि बढेको उल्लेख गर्दै सांसद साहले त्यही जगमा उभिएर देशलाई नै समृद्धिका बाटामा हिँडाउन आफूले अरूलाई दबाब र प्रेरणा प्रदान गर्ने विश्वास दिलाए ।
प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिका सभापति साहले कानुन निर्माणका अतिरिक्त निर्वाचन क्षेत्रका प्राथमिकता सम्बोधन गर्नु आफ्नो मूल सङ्कल्प भएको बताए । प्रत्यक्ष निर्वाचन जितेर आएकाले विधि तर्जुमासँगै निर्वाचन क्षेत्रका समग्र विकास निर्माण र जनताको पीरमर्का सम्बोधन गर्नु आफ्नो पहिलो कर्तव्य भएको उनको ठम्याइ छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभा मातहतका समितिमा रहेका तथा लोकतन्त्र र सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण मानिएका विधेयक आगामी संसद् अधिवेशनमा पारित गर्नुपर्ने औँल्याउँदै उनले कानुन निर्माणमा सत्ता र विपक्ष भावना नभई सर्वसम्मति हुनुपर्ने धारणा राखे ।
नीति र कानुन बनाउने जिम्मेवारी रहेको सार्वभौमसत्ता सम्पन्न संसद्मा सत्ताको भागबन्डा तथा सत्तामा पुग्ने र टिक्ने प्रतिस्पर्धाले मुुुख्य जिम्मेवारीलाई ओझेलमा पारेको सांसद साहले बताए ।
सदनलाई कसरी प्रभावकारी र परिणाममुखी बनाउने भन्नेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने औँल्याउँदै उनले कतिपय अवस्थामा सदन र संसदीय समितिका बैठक छाडेर सांसद अरू नै क्रियाकलापमा संलग्न हुने गरेको उदाहरण प्रस्तुत गरे ।
सांसद साहका अनुसार, संसदीय मर्यादा र गतिविधि बाहिर गएर जनप्रतिनिधि नै बैठकमा प्रस्तुत हुँदा मतदातामा गलत सन्देश प्रवाह हुनसक्छ यो सांसद र संसदका लागि सुहाउँदो विषय होइन ।
उनीहरूले संसदकाे गरिमालाई बुझ्नुपर्छ । कतिपय अवस्थामा त्यो देखिन्न । उनले भने, “सबैलाई स्वीकार्य हुने कानुन बनाए मात्र राष्ट्रको हित हुन्छ । त्यो भएन भने कार्यान्वयन नहुँदै आन्दोलन हुन्छ अनि लागू गर्न कठिन हुन्छ । सर्वसम्मतिमा कानुन तथा सर्वदलीय आधारमा नीति र कार्यक्रम बनाउनुपर्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया