विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेस पनि असन्तुष्ट रहेको दाबी गरेका छन् ।
पार्टीले आयोजना गरेको ‘मध्यपहाडी संकल्प यात्रा’ का क्रममा आज बिहीबार भोजपुरमा आयोजित सभामा बोल्दै उनले यस्तनो दाबी गरेका हुन् ।अध्यक्ष ओलीले सरकारको कामबाट नेपाली कांग्रेसकै नेताहरु समेत आजित भइसकेको दाबी गरे ।
उनले भने, ‘यो सरकारसँग नेपाली कांग्रेसकै नेताहरू पनि आजित भइसकेका छन् । राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर उनीहरु पनि असन्तुष्ट बनेका छन् ।’ देश दिनदिनै ओरालो लागेको भन्दै अध्यक्ष ओलीले यो अवस्थाबाट सबै क्षेत्र चिन्तित भएको बताए ।
देशलाई समृद्धितिर लैजान एमालेको सरकार आवश्यक भएको भन्दै गठबन्धनबाट मुलुकको विकास नहुने टिप्पणी उनले गरे । सुशासन र विकासका लागि कुनै एउटा राष्ट्रिय शक्ति भएन भने देश समृद्ध बन्न नसक्ने भन्दै ओलीले भने, ‘एउटा राष्ट्रिय शक्ति मजबुत भएन भने, सुशासन र विकासको पक्षमा जनशक्ति भएन भने देश बर्बाद हुन्छ ।’
यसैबीच, एमालेको संकल्प यात्रा आज धनकुटा पुगेको छ । धनकुटाका विभिन्न स्थानमा सभा आयोजना गरिने पार्टीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया