काठमाडौं । किर्ते कागजात प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एकजना अधिकृत पक्राउ परेका छन् ।
फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको हो ।
भिजिट भिसामा विदेश जानेहरुसँग फेला परेका शंकास्पद कागजात अनुसन्धान गर्ने क्रममा प्रहरी फर्जी कागजात बनाउने गिरोहको कारखानासम्म पुगेको थियो । प्रहरीले गत कात्र्तिक १९ मा टोखा र स्वयम्भूमा सञ्चालित कारखानामा छापा मारेको थियो ।
गिरोहले प्रहरी रिपोर्ट, श्रम स्वीकृति, प्लस टु को सर्टिफिकेट र नाता प्रमाणित पनि किर्ते बनाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । फर्जी कागजात बनाउने गिरोहले अर्डर भएका कागजात बनाएर पठाओ मार्फत ‘डेलिभरी’ दिने गरेको थियो ।
एक हजार ३२ थान शंकास्पद पर्यटक प्रवेशाज्ञा माथि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । सो कागजातबारे अनुसन्धान गर्दा गिरोहले फर्जी कागजात बनाएर पर्यटक भिसा लगाएर सर्वसाधारणलाई विदेश पठाउने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
सोही प्रकरणमा यसअघि प्रहरीले १३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया