एसइई प्रश्नपत्र सार्वजनिक गर्ने दुई प्रहरीसहित ६ जना पक्राउ

सप्तरी–एसइई परीक्षाको दुई विषयको परीक्षा हुनु अगाडि नै प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा दुई प्रहरी जवान र एक शिक्षकसहित ६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।   

 केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी०ले जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा राजविराज नगरपालिका–१६ का २८ वर्षीय शिक्षक मनोज यादव, राजविराज नगरपालिका–१० का २८ वर्षीय विष्णुदेव यादव, हनुमानगर कङ्काल्नी नगरपालिका–१ का १७ वर्षीय राजेश यादव, सोही ठाउँका १८ वर्षीय उमेश यादव, राजविराज नगरपालिका– १० का २२ वर्षीय ब्रह्मदेव सुनरैत र कञ्चनरुप नगरपालिका–६ का २५ वर्षीय दीपेन्द्रकुमार मण्डललाई सार्वजनिक गरिएको हो ।

आरोपीमध्ये मनोज शिक्षक हुन् भने ब्रह्मदेव र दीपेन्द्रकुमार प्रहरी जवान भएको बताइएको छ । उनीहरु इलाका प्रहरी कार्यालय कल्याणपुर, सिरहामा कार्यरत थिए । केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी०का निरञ्जन भट्टको नेतृत्वमा प्रदेश नं २ का प्रहरी कार्यालय जनकापुर र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।

यही चैत १४ गतेको एसइई परीक्षाको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र परीक्षा शुरु हुनुअगावै उनीहरुले विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । प्रश्नपत्र सार्वजनिक भएसँगै प्रदेश नं २ को एसइई परीक्षा रद्द गरिएको थियो । विज्ञान र  सामाजिक विषयको प्रश्नपत्र ब्रह्देव सुनरैतले सार्वजनिक गरेका थिए । उनले प्रश्नपत्र राखिएको स्थानबाट निकालेर फोटो खिची आफ्ना दाजु विष्णुदेव यादवलाई पठाएका थिए । यादवले  मनोजलाई पठाएका थिए । त्यसपछि  मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेर विभिन्न सामाजिक सन्जालमार्फत सार्वजनिक भएको प्रहरी अनुसन्धानबाट खुलेको छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?