काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–२६ सुन्दरीबजारस्थित सडकमा बीएए ००४१ नम्बरको कारले ग.१३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २ जनाको आइतबार दिउँसो मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा सोही महानगरपालिका–२५ हेम्जा बस्ने २३ वर्षीया अनिशा खड्का र सोही महानगरपालिका–५ जिरो बस्ने २४ वर्षीया भावना बराल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएकी अनिशाको पश्चिम क्षेत्रीय अस्पताल पोखरा र भावनाको चरक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै मोरङको बुढिगंगा गाउँपालिका–५ बुढिखोला पुलस्थित सडकमा को.२६ प ७६३४ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी बर्जु गाउँपालका–२ बस्ने २५ वर्षीय अजय चौधरीको आइतबार साँझ मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–४ पिडरीस्थित सडकमा लु.४ त ५५०५ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक मकवानपुर मनहरी गाउँपालिका–६ बस्ने २४ वर्षीय विशाल प्रजाको घटनास्थलमै मृत्यु भएको छ ।
धनकुटाको पाख्रीवास नगरपालिका–५ पन्चेभिरस्थित सडकमा प्रदेश १–०२–००३ त १६६३ नम्बरको ट्याक्टर बेक्र फेल भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा चालक तेह्रथुम छथर गाउँपालिका–१ बस्ने २८ वर्षीय दुर्गा बहादुर विकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकको धरान घोपामा उपचार भइरहेको छ ।दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया