बैंकहरुमा थुप्रियो निक्षेप, तैपनि किन हुँदैन बजारमा कर्जाको माग ?

लोकपथ
2.6k
Shares

काठमाडौं । बैंकहरुमा अधिक तरलता रहेको भन्दै नेपाल राष्ट्र बैंकले मंसिर महिनामा मात्र वित्तीय प्रणालीबाट पटक–पटक गरी एक खर्ब २५ अर्ब रुपैयाँ खिच्दै केही समय होल्ड गर्दै बजारमा रकम पठाउन गरेको छ । मंसिर देखियता राष्ट्र बैंकले सात दिन र १४ दिने निक्षेप उपकरण जारी गरेर आठौं पटक अर्थात मंसिर २४ गतेसम्ममा एक खर्ब २५ अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट तानिसकेको छ ।

यो अवस्थासम्म आइपुग्दा पनि अधिक तरलता नियन्त्रणमा आउन सकेको छैन । मंसिरको दोस्रो सातासम्ममा लघुवित्त वित्तीय संस्था बाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा कुल ५९ खर्ब ७५ अर्ब रुपैैयाँ निक्षेप रहेको छ । भने। कुल कर्जा रकममा ४९ खर्ब ४० अर्ब रुपैयाँ रहेको छ । यो अवस्थामा बैंक तथा फाइनान्स कम्पनीहरु बिचमा कुल निक्षेप र कर्जाको बिचमा झण्डै १० खर्ब रुपैयाँ फरक देखिएको छ । हाल बैंकिङ क्षेत्रमा निक्षेप र कर्जा अनुपात अर्थात सिडी रेसियो ८० दशमलव ६१ प्रतिशत कायम रहेको छ । यही सिडी रेसियोलाई आधार मान्ने हो भने पनि आजको दिनमा नेपाली बैंकिङ क्षेत्रमा झण्डै पाँच खर्ब रुपैयाँ कर्जा लगानी गर्न सक्ने अवस्थामा रहेका छन् ।

शिथिल अर्थतन्त्रका कारण बजारमा कर्जाको माग नहुँदा बैंकिङ क्षेत्रमा अहिले अधिक तरलता थुप्रिएको छ । त्यही तरलतालाई नियन्त्रणमा राख्नको लागि पनि राष्ट्र बैंकले आज (आइतबार) सात दिने अवधिको २० अर्ब रुपैयाँको निक्षेप उपकरण जारी गरेको हो ।

राष्ट्र बैंकका अनुसार बाणिज्य बैंकहरुमा मात्र अहिले ५२ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कुल कर्जा रकम ४४ खर्ब सात अर्ब रुपैंयाँ रहेको छ । यसैगरी विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि अहिले कुल निक्षेप ६ खर्ब ९० अर्ब रुपैयाँ रहेको छ । त्यसैगरी, कुल कर्जा रकम पाँच खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैंकको यो तथ्यांकलाई आधार मान्दा वाणिज्य बैंकहरुको कर्जाको तुलनामा निक्षेप आठ खर्ब ७७ अर्ब रुपैयाँले बढी रहेको छ । त्यस्तै, विकास बैंक र फाईनान्स कम्पनीहरुमा एक खर्ब १६ अर्ब रुपैयाँ बढी रहेको छ ।

यसको अर्थ बैंक तथा फाईनान्स कम्पनीहरु अझैं खर्बौं रुपैंयाँ कर्जा प्रवाह गर्न सक्ने अवस्थामा रहेका छन् । तर, अर्थतन्त्र शिथिल बन्दै गएको व्यावसायिक वातावरण खस्किएका कारण पनि बजारमा कर्जाको माग निकै कम भएको छ । जसले गर्दा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिन गएको हो ।

बैंक तथा फाईनान्स कम्पनीहरुको निक्षेप र कर्जा लगानीको अवस्था (रकम रु अर्बमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?