टिकटमा बाँचुन्जेल एउटैको हालीमुहाली किन ?

काठमाडौँ, ११ कात्तिक- लोकतन्त्र, समानता, न्याय र समान अवसरका नारा बोक्ने राजनीतिक दलहरू आफैंमा कति लोकतान्त्रिक छन् भन्ने तिनले चुनावमा उठाएका उम्मेदवारको निरन्तरताबाट थाहा हुन्छ । नेपालको राजनीतिमा बेलाबेलामा परिवारवादको चर्चा भएसँगै चुनावमा टिकट लिने र दिने सवालमा ‘बूढो साँढेले झैं ओगटिरहने’ प्रवृत्ति व्यापक छ । एकपटक नेता भएपछि बाँचुन्जेल नेता, एकपटक कुनै क्षेत्रबाट चुनावमा उम्मेदवारी पाएपछि त्यही क्षेत्र वा जिल्लालाई आफ्नो पेवा ठानेर बस्ने प्रवृत्तिले जरा गाडेको छ । त्यस्ता क्षेत्र र जिल्लामा अर्कोले नेतृत्व पाउन ‘पहाडै खस्नुपर्ने’ अवस्था छ अन्नपूर्ण पोस्ट लेख्छ – पञ्चायतकालमा कांग्रेसको राजनीति गर्दागर्दै राष्ट्रिय पञ्चायतमा सदस्य भएका नुवाकोटका अर्जुननरसिंह केसी पञ्चायतकालमै दुईपटक राष्ट्रिय पञ्चायत सदस्यमा (रापस) मा उठे र एकपटक स्वास्थ्य सहायकमन्त्री, एकपटक यातायात राज्यमन्त्रीसमेत भए । पछि जिल्ला पञ्चायतको सभापतिसमेत भए । उनी ४६ सालको जनआन्दोलनताका सभापतिकै नाताले ‘जनआन्दोलन प्रतिकार समितिको जिल्ला संयोजक’ थिए । बहुदल आएपछि उनी राप्रपा थापाका संस्थापक महामन्त्रीसमेत बने । लगत्तै कांग्रेस प्रवेश गरेका उनले एकैपटकमा नुवाकोटबाट सांसदको टिकट पाए बहुदलीय व्यवस्थाअन्तर्गतको संसद्मा पाँचपटक उम्मेदवार बन्ने अवसर पाएका उनी पञ्चायतमा समेत गरेर पाँचपटक मन्त्री भइसकेका छन् । सम्पन्न कांग्रेसको तेह्रौं महाधिवशेनमा उनी सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्री पदाका प्रत्याशीसमेत थिए । आउँदो संघीय संसद्मा पनि उनी प्रत्यक्षतर्फबाट कांग्रेसको उम्मेदवार हुने भएका छन् पञ्चायतकालमै संयुक्त राष्ट्रसंघको जागिर खाएका डा. रामशरण महत शेरबहादुर देउवा नेविसंघका अध्यक्ष हुँदा उक्त संगठनको महामन्त्री थिए । राजनीति गर्नकै लागि ‘कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबाट बोलाइएका’ उनी २०४८ को संसदीय चुनावमा नुवाकोटबाट कांग्रेसको तर्फबाट चुनाव लडे । चुनाव हारेपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बनेका महत नुवाकोटबाटै पाँचपटकसम्म सांसदको टिकट पाएर चारपटक जित हात पार्न सक्षम बने । उनी चारपटक अर्थ र एकपटक परराष्ट्र मन्त्रीसमेत भइसकेका छन् महत र केसी जस्तै टिकटमा हलीमुहाली गर्नेमा कांग्रेसबाट रामचन्द्र पौडेल, शेरबहादुर देउवा, विजयकुमार गच्छदार राप्रपाका पशुपतिशमशेर राणा, एमालेका केपी शर्मा ओली, राजेन्द्र पाण्डे तथा मजदुर किसन पार्टीका नारायणमान बिजुक्छेलगाएत देखिन्छन् |यी केही प्रतिनिधि पात्र र प्रवृत्ति अहिले पनि आफूलाई खास कुनै क्षेत्रको उम्मेदवारका रूपमा स्थापित गर्ने र त्यही विरासतलाई निरन्तरता दिने प्रयासमा कैयन् राजनीतिज्ञहरू पनि लागिरहेका छन् । स्थानीय निकायमा पनि यो प्रवृत्ति देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?