काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको आयोजना गरेको छ ।
मङ्सिर २२ गतेदेखि लुम्बिनीमा सुरु भएको सो महोत्सव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
बौद्ध धर्मलाई केन्द्रमा राखी नेपाल–भारतको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परालाई सो महोत्सवमा देखाइने बताइएको छ । महोत्सवको मुख्य आकर्षण भारतको लद्दाखस्थित हेमिस मठका भिक्षु कलाकारहरूले तयार पारेको ‘स्यान्ड मण्डला’ चित्रकला प्रदर्शनी रहेको थियो । स्यान्ड मण्डला चित्र एक परम्परागत बौद्ध कला हो, जसमा रङ्गिन बालुवाको प्रयोग गरी जटिल डिजाइनहरू सिर्जना गरिन्छ । प्रदर्शनीमा भारतको लद्दाखस्थित हेमिस मठका भिक्षु कलाकारहरूको सीप र शिल्पकारिता प्रस्तुत गरिएको थियो ।
महोत्सवमा प्रख्यात फोटोग्राफर बेनोय बहलका तस्बिरमा आधारित फोटो प्रदर्शनी, नेपाल–भारतको परिकारसहितको स्ट्रिट फुड फेस्टिभल र सांस्कृतिक कार्यक्रम रहने बताइएको छ । महोत्सवमा बौद्ध सम्पदास्थलका आकर्षक तस्बिर समेटिएको फोटो प्रदर्शनीलाई पनि समावेश गरिएको छ । सो फोटो प्रदर्शनीमा प्राचीन कालदेखि अहिलेसम्मका बौद्ध धर्मसँग सम्बन्धित स्मारक र कला सम्पदाबारे विस्तृत जानकारी दिइने बताइएको छ ।
महोत्सवमा भारतको लेहस्थित थिक्से मठका कलाकारहरूको चाम नृत्य, दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका कलाकारहरूको भरत नाट्यम, स्थानीय कलाकारहरूको थारु नाच र नेपालको सुकर्म ब्यान्डले प्रस्तुत गरेको सितार वादनसहितको सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।
मङ्सिर २२ गते बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा महोत्सवकै एक हिस्साको रूपमा ‘सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्ध शिक्षाको प्रभाव अन्वेषण’ शीर्षकको एक शैक्षिक गोष्ठीको पनि आयोजना गरिएको थियो । अब हरेक वर्ष लुम्बिनीमा यो खालका महोत्सव आयोजना गर्ने विषयमा पनि छलफल भएको छ ।
यस्ता महोत्सवले साझा सम्पदा, परम्परा र संस्कृति मनाउन भारत र नेपालका मानिसहरूलाई एकै ठाउँमा ल्याउन सहयोग गर्ने विश्वास समेत लिइएको छ । स्यान्ड मण्डला चित्रकला प्रदर्शनी तथा फोटो प्रदर्शनी आगन्तुकहरूका लागि शनिवार पनि खुला रहने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया