रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाको कार्यपालिका बैठक बस्न नसक्दा नगर सभा अन्योलमा परेको छ । नेपाली कांग्रेसमा आबद्ध जनप्रतिनिधि अनुपस्थित भएपछि दोस्रो पटक नगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको हो ।
नगरसभाको मिति तोक्न बुधबार बस्ने भनिएको कार्यपालिकाको बैठकमा गणपूरक संख्या नपुगेपछि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताए ।नगरसभा हुन नसक्दा नगरपालिकाका हरेक काम प्रभावित भएको छ ।
कांग्रेस समर्थित १५ जना कार्यपालिका सदस्य अनुपस्थित भएको जनाइएको छ । फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेस पार्टीका मेयर, उपमेयर, ७ जना वडाध्यक्ष र ८ जना मनोनीत गरी १७ जना र अन्य दलका ४ जना वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत गरी कुल २१ जना नगर कार्यपालिका बोर्डका सदस्य छन् ।
कांग्रेस पार्टीका निर्वाचित ७ जना वडा अध्यक्ष र ८ जना कार्यपालिका सदस्य अनुपस्थित भएको फतुवा विजयपुर वडा ९ का अध्यक्ष पप्पु भन्ने राकेशकुमार यादवले बताए ।
असार १० गते नगर सभा गर्न नगरपालिकाले सम्पूर्ण तयारी गरे पनि कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुको अडानको कारण हुन नसकेको उनको भनाई छ । यसअघि प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर पालिकामा जनप्रनितिधि बीच नै विवाद भएको उनले बताए ।
नगरसभा नभएका कारण फतुवा विजयपुरको शिक्षक कर्मचारीसहित ३५० भन्दा बढीले यस आर्थिक वर्षमा तलब पाएका छैनन् भने पालिकाको आर्थिक कारोबार ठप्प हुँदा विकास निर्माणको काम प्रभावित भएको छ ।
लालबकैया नदीको टेण्डरमा तत्कालीन मेयर गोपाल राय यादवलाई दोषी ठहर गर्दै विशेष अदालतले तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिबाना गरेपछि उपमेयर खातुनले कार्यवाहकको जिम्मेवारी पाएका थिए ।
कार्यवाहक मेयर अम्बेया खातुन पनि कांग्रेस पार्टीको भएपनि कांग्रेसका कुनै प्रतिनिधिसँग सल्लाह नगरी एकोहोरो बैठक राखेका कारण बहिष्कार गरेको उनीहरुको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया