रुसमा मार्च १७ मा राष्ट्रपति पदका लागि चुनाव हुने

लोकपथ
28
Shares

काठमाडौं । रुसको संसदले राष्ट्रपति पदको चुनावको मिति घोषणा गरेको छ ।

सन् २०२४ को मार्च १७ तारिखमा रुसमा राष्ट्रपति पदका लागि चुनाव हुने छ ।

उक्त चुनावमा वर्तमान राष्ट्रपति ७१ वर्षीय भ्लादिमिर पुटिन पनि उम्मेदवार बन्ने चर्चा चले पनि यस विषयमा उनले कुनै टिप्पणी भने गरेका छैनन् । तर, रुसको संवैधानिक व्यवस्थाअनुसार अहिलेको कार्यकाल पूरा गरेपछि अझैं २ कार्यकाल उनले चुनाव लड्न पाउने छन् ।

रुसको राजनीतिक प्रणालीमा पुटिनको बलियो पकड रहेकाले जित लगभग निश्चित मानिन्छ । उनलाई चुनावमा चुनौती दिने उनका सम्भावित आलोचकहरू या त जेलमा छन् वा विदेशमा छन् ।

स्वतन्त्र मत सर्वेक्षणका अनुसार युक्रेनमा सैन्य कारबाही र निजी सैन्य कम्पनीका प्रमुख येभगेनी प्रिगोजिनको विद्रोहले पुटिनको विश्वसनीयतामा कुनै असर गरेको देखिँदैन ।

पुटिन कम्तीमा २०३० सम्म सत्तामा रहने सम्भावना छ ।

सन् २०२० मा संशोधन गरेर दुई कार्यकालको राष्ट्रपतिको सीमा लगाएपछि यो पहिलो चुनाव हुनेछ । पुटिन सन् १९९९ मा पहिलो पटक रुसको राष्ट्रपति बनेका थिए ।

बोरिस येल्तसिनपछि पुटिनले राष्ट्रपति पद सम्हालेका थिए । उनी जोसेफ स्टालिन पछिका कुनै पनि रुसी शासकभन्दा लामो समय देशको राष्ट्रपति बनेका छन् । यसअघि लियोनिद ब्रेजनेभ १८ वर्षसम्म रुसको राष्ट्रपति थिए । यो रेकर्ड भने पुटिनले तोडिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?